
जापानले यौन अपराधसम्बन्धी कानुनमा परिवर्तन गरेको छ । जापानी संसदले बलात्कारको परिभाषा परिवर्तन गरेको छ भने सहमतिमा यौन सम्बन्ध राख्ने उमेर पनि बढाएको छ ।
नयाँ कानुन अनुसार सहमति बिना शारीरिक सम्बन्ध बनाएमा बलात्कार मानिनेछ । यसअघि यहाँ जबर्जस्ती शारीरिक सम्बन्ध राख्नुलाई बलात्कार मानिन्थ्यो भने त्यो जबर्जस्ती हो भन्ने कुरा पीडितले नै प्रमाणित गर्नुपर्ने अवस्था थियो ।
अब सहमतिमा शारीरिक सम्बन्ध राख्ने उमेर पनि १३ वर्षबाट बढाएर १६ वर्ष बनाइएको छ । जापानमा सहमतिमा यौन सम्बन्धको उमेर ११६ वर्षपछि फेरिएको हो ।
सन् १९०७ मा कानुन बनाउँदा सहमतिमा यौन सम्बन्ध राख्ने उमेर १३ वर्ष थियो ।
जापानी संसद डायटको माथिल्लो सदनबाट नयाँ कानुन पारित भएको हो । नयाँ कानुन अनुसार अब जापानमा यौन अपराधको १५ वर्षपछि पनि पीडितले उजुरी गर्न सक्नेछन् ।
जापानमा पछिल्ला वर्षहरुमा लगातार बलात्कारका घटनामा वृद्धि हुँदै गएको देखिएको छ । सन् २०२२ मा जापानमा १ हजार ७०० बलात्कारका घटना दर्ता भएका थिए ।







