
उत्तर कोरियाले गरेको जासुसी स्याटेलाइट परीक्षणका क्रममा समुद्रमा खसेको छ । एक दुर्घटनाका कारण अन्तरिक्षमा पहिलो स्याटेलाइट स्थापित गर्ने कोशिस असफल भएको उत्तर कोरियाले जनाएको छ ।
उत्तर कोरियाको रकेट लञ्चका कारण जापानको ओकिनावा द्विपका जनताका लागि चेतावनी जारी गरिएको थियो । तर केही समयपछि नै जापानले सो क्षेत्रमा कुनै नोक्सानीको खतरा नरहेको बताइएको थियो ।
उत्तर कोरियाले यसअघि नै अमेरिकी सैन्य गतिविधिमाथि निगरानी राख्नका लागि ११ जुनभन्दा अघि नै स्याटेलाइट लञ्च गर्ने घोषणा गरेको थियो ।
पहिलो प्रयास असफल भएपछि उत्तर कोरियाले छिट्टै नै दोस्रो स्याटेलाइट लञ्च गर्ने कोशिस गर्ने जनाएको छ ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाले मिसाइल परीक्षण गरेकोजस्तो अनुभव भएको जनाएका छन् । उनले जापान सरकारले तथ्यांक विश्लेषण गरिरहेको पनि उल्लेख गरेका छन् ।
जापानले यसअघि नै आफ्नो क्षेत्रलाई खतरा पुर्याउने कुनै पनि वस्तु खसाल्न दिर्नेशन दिएको थियो । उत्तर कोरियाले परीक्षण गर्दा दक्षिण कोरियाको राजधानी सोलमा भने भागाभागको अवस्था सिर्जना भएको थियो ।
हवाई हमलाको चेतावनी दिने साइरन बजाइएको थियो भने आपतकालीन अवस्थाको चेतावनी दिने सन्देश पठाइएको थियो । कोरियाली प्रायद्विपमा पछिल्लो ७० वर्षदेखि तनावको अवस्था छ ।







