मन्त्रीसँगै वीर अस्पतालको चर्पी सफा गर्न पुगे धुर्मुस (फोटो फिचर)

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताल सफाइ अभियान थालेको छ । आइतवार दिउँसो स्वास्थ्य राज्य मन्त्री पद्या अर्यालसँगै देशकै पुरानो सरकारी अस्पताल वीरका चर्पी सफा गर्न पुगे कलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस ।

सरकारको सरसफाइ सद्भावना दूत समेत रहेका धुर्मुससँगै राज्य मन्त्री अर्यालले वीर अस्पतालको चर्पी सफा गरेकी हुन् ।

‘अस्पतालको शौचालय सोहोन मन्त्रीसँगै हामी पनि पुग्यौँ’, सरकारका सरसफाइ दूत धुर्मुसले भने, ‘सरकारले थालेको नमूना अभियान सफल बनाउन हामी पनि होमिएका छौँ, यसलाई देशभरी लैजाने योजना सरकारले बनाएको रहेछ ।’

स्वास्थ्य मन्त्रालयको योजनामा वीर अस्पताल सफा गर्न धुर्मुस–सुन्तलीसँगै बागमती सफाइ अभियन्ता, चक्रपथ सफाइ अभियन्ता र एयरपोर्ट सफाइ अभियन्ता खेम शर्मा पनि सहभागी थिए ।

सरकाले वीरपछि ट्रमा सेन्टर हुँदै उपत्यकाका सबै सरकारी अस्पतालको चर्पी मात्रै नभएर अस्पताल परिसर नै सफा गर्ने अभियान थालेको हो ।

धुर्मुसका अनुसार अबको १५ दिनभित्रमा वीरलाई सरसफाइकै नमूना अस्पताल बनाउने योजना बनाइएको छ । ‘दुर्गन्धले पसिनसक्नु रहेका वीरका चर्पीमा पसेर हामीले सफाइ गर्‍यौँ’, धुर्मुसले भने, ‘मन्त्रीज्यूले पनि ब्रस बोकेर वीरको चर्पी सफा गर्नुभयो, सबै सरकारी अस्पताललाई दुर्गन्धमुक्त बनाउने स्वास्थ्य मन्त्रलायको योजनालाई सबैले सफल बनाउनुपर्छ ।’

मानिसको दिमागी फोहोरलाई सफा नबनाएसम्म यो अभियान सफल बनाउन गाह्रो हुने बताउँछन् धुर्मुस । ‘यो अभियान मानिसको दिमागी सफाइका लागि पनि हो’, सरकारका सफाइ दूत धुर्मुसले भने, ‘सरकारी अस्पतालको बेहाल हेर्दा मानिसको दिमागी सफाइ पनि गर्नुपर्ने आवश्यकता देखियो । अर्थात सचेतना अभियानलाई पनि प्रभावकारी बनाउनुपर्छ ।’

यो टोली अब सबै सरकारी अस्पतालमा पुग्ने भएको छ । जहाँ पुगेर सबै सरकारी अस्पतालको शौचालयदेखि अस्पताल परिसर नै सफा बनाउने अभियान टोलीले थाल्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?