प्रिन्टिङ र फोटोग्राफी एक्स्पो पुसमा, जापानी उत्पादक कम्पनी पनि सहभागी हुने

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा आगामी पुस ४ देखि ६ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एन्ड फोटोग्राफी एक्स्पो हुने भएको छ । समूहले हेबी हेल्प लिंकको मुख्य प्रायोजनमा नेपालमा पहिलो पटक प्रिन्टिङ र फोटोग्राफीको एक्स्पो २०७४ गर्न लागेको समूहका अध्यक्ष ध्रुब आलेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

आलेका अनुसार अन्तर्राष्ट्रियस्तरको प्रिन्टिङ एन्ड फोटोग्राफी एक्स्पोमा प्रिन्टिङ एन्ड फोटोग्राफी सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरुको सहभागिता रहनेछ । जापान, कोरिया, भारत लगायतका विभिन्न देशका उत्पादक कम्पनीहरुले एक्स्पोमा प्रत्यक्ष रुपमा सहभागिता जनाउने छन् ।

एक्स्पोमा १ सय वटा स्टल रहने कार्यक्रम संयोजक हरि रेग्मीले जानकारी दिए । उनका अनुसार एक्स्पोमा १३ ठूला र ८७ वटा साना स्टल हुनेछन् । एक्स्पोमा कार्यशाला गोष्ठी, अन्तक्र्रिया, फोटो सेसन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुने रेग्मीले बताए । प्रदर्शनी स्थलमा फुड स्टलको समेत व्यवस्था गरिएको छ ।

प्रिन्टिङतर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफीतर्फ क्यामेरा उत्पादक कम्पनीहरु, फोटो पेपर उत्पादक कम्पनीहरु, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनीहरु, मोबाइल, ल्यापटप ,कम्प्युटर, वित्तीयतर्फ बैंक तथा बिमा कम्पनीहरु, फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धी कलेजहरु, इस्टिच्युटहरु, प्रकाशन गृह लगायतको सहभागिता रहने छ । पत्रकार सम्मेलनमा रेग्मीले भने, ‘औद्योगिक प्रिन्टर, कमर्सियल प्रिन्टर, प्रिन्टिङ प्रेस र क्यामरा तथा फोटोग्राफीसँग सम्बन्धित सबै क्षेत्रलाई एक्स्पोमा समेट्ने प्रयास गरेका छौं ।’

प्रिन्टिङ तथा फोटोग्राफीसँग सम्बन्धित सबैलाई एक्स्पोको भरपुर सदुपयोग गर्न समूहले आग्रह गरेको छ । एनएफपिजेले फोटोपत्रकारहरुको हकहितका लागि आवाजहरु उठाउँदै आएको छ भने फोटोपत्रकारको क्षमता तथा दक्षता अभिवृद्घिका लागि तालिम, अन्तक्र्रिया, गोष्ठी, फोटो प्रदर्शनीहरुको आयोजना गर्दै आएको छ । २०५३ सालमा स्थापना भएको राष्ट्रिय फोटो पत्रकार समूह देशभरका क्रियाशील फोटोपत्रकारहरुको छाता संगठन हो । यसका ३२ वटा जिल्ला शाखा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?