पौडेल एनआरएनए जापानको उपाध्यक्षका लागि चुनावी मैदानमा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको उपाध्यक्षमा शिव प्रसाद पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए जापानलाई पारदर्शी, बलियो र जापानमा रहेका नेपालीको हक अधिकार स्थापित गर्ने थलोका रुपमा विकास गर्ने आफ्नो प्रतिवद्धता सहित पौडेलले चुनावी मैदानमा उत्रिएको घोषणा गरेका हुन् ।

पौडेलले आफु विगत १२ वर्ष देखि जापानमा क्रियाशील विभिन्न सामाजिक संघ संस्थाहरुमा काम गरिरहेको उल्लेख गर्दै यस पटक एनआरएनए जापानको उपाध्यक्षमा आफु विजयी हुने पक्का पक्की भैसकेको दाबी समेत गरेका छन् ।

उनले आफुले गरेका कामको मुल्यांकन गर्दै जापानवासी नेपालीहरुले एनआरएनए जापानको नेतृत्वमा आउन दवाव दिएकाले पनि उम्मेदवार बन्नुपरेको उल्लेख गरेका छन् ।

सन् २००५ मा जापान आएका पौडेल हाल रियल स्टेट कम्पनी सञ्चालन गर्दै आएका छन् । उनले आफ्नो व्यावसाय अन्तरगत नेपालीहरुलाई घर र कोठा सहुलियत मुल्यमा उपलब्ध गराउँदै आएको दाबी गरेका छन् ।

विभिन्नसामाजिक संघ संस्थाहरु मार्फत् सामाजिक काम समेत गर्दै आएका पौडेल कास्की समाज जापानका अध्यक्षका रुपमा समेत सामाजिक काममा क्रियाशील छन् । एनआरएनए कान्तोको सल्लाहकार समेत रहेका पौडेल नेपालमा समेत समाज सेवामा सक्रिय छन ।

पौडेलले आफुले एनआरएनए जापान मार्फत् अझै बढी सामाजिक कामहरु गर्नेयोजना बनाएकाले एक पटक काम गर्ने अवसर दिन जापानबासी नेपालीमा अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?