जापानी साकुरालाई मायालु गुँरासको चिठ्ठी

Sakura-and-Rhododendron-lali-gurans-in-pokhara-430x316प्रिय साकुरा, सात समुन्द्रपारीको प्रकृति प्रद्घत्त सुन्दर देश नेपालको राजधानीबासी गुँरासको मिठो सम्झना । हुन त एक कल फोन गरेको भएपनि हुन्थ्यो, किन पत्र लेख्नु परेको भन्यौली, तर आजकल फोनमा न कुरा नै बुझिन्छ न त मनका तीतामिठा कुराहरु पोख्न नै पाइन्छ । त्यसैले यो पत्र लेख्दै छु ।

साकुरा केही दिन अघिमात्र तिम्रो ठाउँमा गएर आउनुभएको मेरो साथीले तिमी र तिम्रो परिवेशबारे सबै हालखबर सुनाउनुभएको थियो ।

दुई वर्ष अघिमात्र भुँईचालो र सुनामीले तहसनहस पारेको तिम्रो ठाउँ यति छोटो अवधिमै पुनसंरचना भइसकेको खबर सुन्न पाउँदा अति नै खुसी लाग्यो । तिम्रो त्यो मेहनत र सम्पन्नताको कुरा सुन्दा एकैछिन त मन प्रशन्न भयो तर एकै छिनपछि मेरो मनलाई म आफैं नियन्त्रण गर्न सकिन र तिम्रो नाममा यो पत्र लेख्दैछ ।

साकुरा सधै अस्तव्यस्त र अव्यवस्थित शहरमा रमाउने मलाई तिम्रो परिवेशको सन्दर्भमा कुरा सुनेर झनै विरक्त लागेर आयो । केही दिन अगाडिमात्र गाउँबाट रामु भाई आएर गाउँघरतिरको सबै हालखबर सुनाएको थियो । आजभोलि त हाम्रो गाउँघर पनि साह्रै रमाइलो छ अरे ! थुप्रै विकास निर्माण र समाज परिवर्तनका कामहरु सुरु भइरहेका छन् अरे । प्रत्येक गाउँमा विदेश नगएको घर भेट्टाउन मुस्किल पर्छ । थुप्रै पैसा गाउँमा भित्रिरहेको छ भन्दै निकै खुसी देखिन्थ्यो भाई तर यो कुराले म भने कत्ति खुसी हुन सकिन । गाउँ गाउँका डाँडापाखाहरुमा डोजर लगाएर मोटरबाटो निर्माण गरिदै छ भन्ने सुन्छु । केही बर्ष अगाडि बाबाले मलाई फोन गर्नका लागि २ घण्टा लगाएर धाउनुपथ्र्यो । आजकल घरघरमा मोबाइल छन्, युवापुस्ताहरु हात हातबाट संसार हेर्छन । यसो विचार गर्छु…।

केही विकास त पक्कै पनि भएकै हो । भाई आउँदा मेरो क्षेत्रको एक सामाजिक संस्थाले गरेको महत्वपूर्ण कार्यक्रमको भिडियो सिडी ल्याएर आएको रहेछ, निकै खुसी लाग्यो एउटा सामाजिक संस्थाले समाज परिवर्तन र देशको समग्र विकासमा यति ठूलो भूमिका खेलेको देख्दा । यहि पेरिफेरिमा केन्द्रित भएर आज तिमीसँग केही तीतामिठा अनुभवहरु सुनाउदै छु अन्यथा नसोच्नु ल । साकुरा !!!

रेमिट्यान्सको आडमा चलेको देशको यो तीतो यथार्थता सबैलाई छर्लङग छ । हाम्रो समाजका कुनै पनि विकासका कार्यहरु गर्दा व्यक्तिगत सहयोगमै रेमिट्यान्सबाट आएको रकम परिचालित हुनु चानचुने कुरा होइन । ती हाम्रा दाजुभाई जसले विदेशमा आफ्नो अमूल्य श्रम र पसिना बगाएर कमाएको पैसा सामाजिक विकासमा लगाउनुभएको छ । उहाँहरुको त्यो योगदानलाई कम आँकलन गर्न त पक्कै पनि मिल्दैन, उहाँहरुकोे समाजप्रतिको यो योगदानलाई पक्कै पनि कदर गर्नैपर्छ ।

हाम्रा स्थानीय संघ/संस्थाले गरेको यस प्रकारको कामले उहाँहरुलाई नेपाल र आफ्नो क्षेत्रको विकासका लागि केही गर्नुपर्छ भन्ने कुराको वातावरण निर्माणमा महत्वपुर्ण भूमिका खेल्नेछ । हुन त यस कार्यमा सबै विदेशिएकाको सहयोग पर्याप्त छ त भन्न मिल्दैन, कतिपय साथीहरुले पहिले व्यक्ति विकास अनि मात्र समाज विकासका कामहरुमा लगाउने भन्ने कुराहरु पनि गर्नुभयो तर कुन स्तरसम्मलाई उहाँ व्यक्ति विकासको दायरामा राख्नुभएको हो, मलाई अलिक सान्दर्भिक लागेन किनकी हाम्रो जस्तो विकासशील देशमा बसेर युरोपियन जीवनशैली अंगिकार गर्न चाहनु उहाँहरुको उच्च महत्वकांक्षी हो भन्ने मैले ठान्दछु । किनकी समग्र विकास नभएसम्म हामी व्यक्ति विकासलाई मात्र विकास मान्न सकिदैन त्यो निश्चित हो । पक्कै पनि हो कार्यक्रम निकै उदाहरणीय र सह्रानीय छ ।

‘जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि’ भने झैं सरकारी तवरबाट हाम्रो गल्कोटको विकासको लागि कुनै काम नभएपनि गल्कोटेहरुको सामूहिक प्रयासहरु राष्ट्रकै लागि उदाहरणीय छन् । तर कार्यक्रमको समग्र भिडियो हेर्दै गर्दा म र म जस्ता आम नागरिकमा त्यस भिडियोले यस्तो छाप छोड्यो कि आर्थिक सहयोगको मात्र समाजमा उच्च मुल्यांङन हुँदो रहेछ ।

त्यसो त आर्थिक स्रोतबिना कुनैपनि कार्यक्रम अगाडि बढ्न नसक्लान तथापी के समाजमा सकारात्मक परिवर्तन र वास्ताविक विकासमा स्थानीय, समाजसेवी, बुद्धिजिवी, डाक्टर, प्रोफेसर, विभिन्न पेसाकर्मी, देशमै व्यवसाय संचालन गरी हजारौलाई देशमै रोजगारी प्रदान गरिरहेका सफल व्यवसायी र स्वदेशमै स्वरोजगार बन्न प्रेरणा र हौसला प्रदान गर्ने अग्रजहरु साथै विशुद्ध सामाजिक कार्यमा लागेका अगुवाहरुको योगदानलाई अलिक छाँयामा पारेर मात्र रेमिट्यान्सबाट आएको आर्थिक सहयोगीलाई महत्व दिदै जाँदा आम जनमानसमा पलायनवादी सोच हावी हुने सन्त्रासका यस्ता सामाजिक विकासमा लाग्ने संस्थाले सकेसम्म स्वदेशमै रहेर देश विकासमा क्रियाशील मानिसलाई प्रेरणा र हौसला प्रदान गर्दै उनीहरुको समुदायप्रतिको क्रियाशीलतालाई उच्च मुल्याङ्कन गरी दैनिक बैदेशिक रोजगारीमा भौतारिने जनशक्ति स्वदेशमा परिचालन गर्ने माहौल निर्माण गर्न सकेमामात्र देशले कायापलट फेर्नेछ भन्ने मलाई देश, काल र परिस्थितिका कारण विदेशिन बाध्य लाखौ जनशक्तिलाई हामी स्वदेशमै फर्काउने वातावरण तयार पार्न सक्यौ भने सायद, साकुरा !

हामी पनि पक्कै तिमीहरुले जस्तै हामी पनि विश्वलाई नै चमत्कार देखाउन सक्नेछौ । साकुरा ! हामीसँग के छैन ? हामीसँग संसारको सबैभन्दा चिसो ठाउँ छ, हामी संसारको तातो ठाउँ पनि यही पाउन सक्छौ, हाम्रो जस्तो हिमाल, पहाड र तराईको भु–बनावट संसारका कुनै पनि देशका खोजेर पाउन सकिदैन । हामीले चाहने हो भने देशलाई संसारकै सुन्दर बगैचा बनाउन सक्छौ, हाम्रो सुन्दर बगैचामा रसस्वादन गर्न विश्वकै भमरा र माहुरीको लाम लाग्ने वातावरणको निर्माण गर्न सकिन्छ ।

हामीसँग त्यसका लागि आवश्यक पर्ने दक्ष, अर्धदक्ष र अदक्ष सबै किसिमको मानव संसाधन नभएको पनि होइन । मात्र हामीलाई आवश्यक छ, सकारात्मक सोचको । राष्ट्रले लाखौं रुपयाँ खर्च गरेर एउटा दक्ष जनशक्ति तयार पार्छ तर त्यो जनशक्ति अन्ततः डलर मोहमा पलायन भई विकसित देशले अत्यन्तै न्युन तलबस्तरमा योग्य जनशक्तिको प्रयोग गरिरहेको छ । हामी त्यो जनशक्ति नेपालभित्रै प्रयोग गर्न सक्यौ भने मात्र पर्याप्त छ देशको कायापटल साकुरा तिमीलाई मेरो देश घुम्न आउने निमन्त्रणा त पठाईसकेको छु तर तिमीले आनाकानी गरिरहेछौ भन्ने सुन्दा र मेरो देसको स्पष्टिकरण मागेकाले मात्र केही कुरा लेख्दै छु ।

तिमी घुम्न आउने या नआउने प्रतिक्रिया जनाईदिनु है त । साकुरा संसारका प्रायः देशका राजधानी शहरहरु व्यवस्थित नै हुन्छन् । मानिसहरुले सभ्यताको खोल ओढेकै हुन्छन् । नीति नियमहरु पनि कडा नै हुन्छन् । तर यो हाम्रो देशको राजधानी शहरमा त अचम्मको संस्कार छ । यहाँका प्राय मानिसहरु सभ्यताको खोल ओढेर असभ्यताको परिचय दिइरहेका हुन्छन् । पहिला पहिला मेरो गाउँघरमा जंगली जनावरको डर र त्रासले जनजीवन भयभित हुने गथ्र्याे तर यो राजधानी शहरमा त मानिस मानिस बिचमा नै त्रासको वातावरण पैदा हुने गर्छ ।

यहाँ त दिउँसै नारीमाथिको अस्तित्व लुटिएको छ । चोरी डकैतीका घटना दिनदहाडै सुन्न र देख्न पाइन्छ । जताततै महंगीको मार, सरकारी कार्यालय तथा वित्तिय कार्यालयमा खुलमखुल्ला घुस लेनदेनको कारोबार, यातयातको बढ्दो चाप, मापदण्ड विपरितका घरटहरा तथा साँधुरा गल्ली सडकहरु, पानी र बत्तीको समस्या, वातावरणीय प्रदुषण, देसका विभिन्न भागमा थोपरिएका संस्कतिको मिश्रण, बिदेशिने रहरले दलालमार्फत ठगिएर घर न घाट भइसकेका कैयौ व्यक्तिको कथा ब्यथा आदि ईत्यादीले काठमाडौं शहरको जनजीवन अस्तव्यस्त भइरहेको छ । मेरो बुवाले एकपटक काठमाडौं आई बागमतीमा स्नान गरी पशुपतिको दर्शन गर्ने धोको छ भन्नु भएको थियो तर यहाँका बागमती लगायत अन्य नदीहरु त अब फोहोरको नालीमा परिणत भइसकेका छन् ।

प्राचीन धर्म अनि संस्कृतिको संगमस्थल भनेर चिनिने राजधानी शहर अहिले त हरेक मठमन्दिरहरु जिर्ण अवस्थामा रही जिर्णोद्धारको अब हामीजस्ता युवाहरु शहरी अस्तब्यस्तताको जिन्दगीभन्दा पनि स्वच्छ गाउँले परिवेशलाई त्याग्नु हुँदैन भन्ने मान्यतालाई अंगिकार गरी गाउँ फर्किएर परिवर्तनका रेखाहरु कोर्ने विचारका साथ म छिट्टै नै गाउँ फर्कदै छु, साकुरा । ओहो !

साकुरा म त मेरो मात्र एकोहोरो कथा सुनाउदाँ सुनाउँदै तिम्रो विषयमा त केही सोध्नै विर्सिएछु हेर न….। त्यहाँ त तिमी भमरा र माहुरीलाई लठ्ठ पार्दै रंगिचंगी बैंसको उन्माद छर्दै, वास्नादार यौवनको मात खुवाउदै फेरि पनि फुल्न थाल्यौं होला हरेक वसन्तऋतुमा जस्तै । अनि कोही टहलिने नाममा, कोही बनभोजको निहुँ गरी तिमीसँग नजिकिन चाहनेहरुको विस्तारै विस्तारै भिड पनि बढ्न थाल्यो होला । म पनि तिम्रो सौन्दर्यबाट भनौ या तिम्रो यौवनको मादकताबाट अपरिचित पक्कै थिईन तर माफ गर साकुरा म तिम्रो प्रेमी बन्न सकिन् । किनकी साकुरा तिमीलाई पाउन मैले मेरो लालीगुँरासलाई धोका दिनुपथ्र्यो, तिमीसँगको सामीप्यताको लागि मैले मेरो नागरिकता बन्धकीमा राख्नुपथ्र्यो, भेष बिर्सनुपथ्र्यो, भाषा फेर्नुपथ्र्यो अनि एउटा चुम्बनको लागि सकेसम्म आफैंलाई बेच्नुपथ्र्यो तर माफ गर साकुरा म त्यति स्वार्थी बन्न सकिन ।

थाहा छ मलाई तिमीलाई भेट्न र तिम्रो एक झल्को पाउन तिमीलाई चाहनेहरु क्षणभरमै आउन सक्छन् । कोही बुलेट ट्रेनमा आउँछन त कोही जहाजमा धाउँछन् । कोही स्काईब्रिज भई आउँछन भने कोही भूमिगत बाटो समाउँछन् । साँच्ची तिमीलाई त उदेकलाग्दो हो साकुरा ! म मेरी लालीगुँरासलाई भेट्न घुम्टे लेक पुग्दा घन्टौ पैदल हिड्नुपर्छ तरपनि म आफ्नो मायालाई भेट्न जाँदा बाटो गल्ती गर्दिन, दुरी नाप्दिन किनकी तिमीले नै भन्थ्यौ नि साकुरा ! ….मायाको कुनै हिसावकिताव नै हुदैन भनेर । आखिर मलाई पनि त्यही भयो होला । साकुरा हेर न आजभोलि त मेरी लालीगुँरास पनि साकुरा जस्तै हुन्छु भन्छे, तिम्रो हाउभाउ र श्रृगारपटार हेर्न एकचोटी त जापान जान्छु भन्छे । आजपनि उसकै कुराले हो तिम्रो सम्झना दिलाएकोे त्यसैले आज मनैबाट तिमीलाई सम्झदै भन्छु । साकुरा !

कतै मेरी लालीगुँरास तिम्रो हाउभाउ हेर्ने बाहानामा तिमै्र देशमा हराउन खोजिन भने उतैको परिवेशमा रमाउन खोजिन् भने भनिदिनु कि उनीबिना म रित्तो हुनेछु, म एक्लो हुनेछु । साकुरा !! उनको मायाविना म नितान्त एक्लो हुनेछु ।

हरिचौर–७, गल्कोट बागलुङ

हाल : मीनभवन, नयाँवानेश्वर काठमाडौं

Email: [email protected]

लेखक विगत ४ बर्षदेखि पर्यटन क्षेत्रमा कार्यरत र क्रियाशील छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्