जापानमा नेपाली विद्यार्थीका कठिन र संघर्षपूर्ण दैनिकी

Japan

यदुराम सापकोटा ‘क्षितिज’

२०१३ साल जनवरी १ तारिख को दिन थियो। जापानमा अध्ययन गर्ने भिसा लागेकोले काठमाडौ छाडेर हिड्ने तर्खरमा थिए । जापान पठाउने भनेर घरदेखि बुबा आउनु भएको थियो। अनि नारायण दाई २ जना दिदीहरु।

अङकलको छोरा काठमाडौ मै थियो। अरु पनि आफन्तहरु काठमाडौ मै थिए। म एक जना लाई बिदेश पठाउन त्रिभुवन बिमानस्थलमा माला र टिका लिएर २०/२५ जना आफन्तको लाम लागेको थियो। सबैको आँखामा आँशु देखिन्थ्यो। गएपछि छिटै फोन गर्नु, नियममा रहेर काम गर्नु, राम्रो सँग पढ्नु, परदेश हो आफ्नो देश हैन नियम भन्दा बाहिर नजानु यस्तै यस्तै सल्लाह र सुझाब दिदै हुनुहुन्थ्यो सबैले।

बिस्तारै रात छिप्पिदै थियो। रातको ११ बजे ड्रागन एयरबाट हङ्कङ हुदै जापानको फुकुओका सिटीमा १७ तारिखको अवतरण हुने टिकट थियो। १० बजे भित्रै एयरपोर्ट छिर्नु पर्ने थियो। हामीहरु एउटै कन्सल्ट्यान्सीबाट ५ जना साथीहरु थियौ। कन्सल्ट्यान्सीको दाई पनि ५ वटा माला लिएर एयरपोर्टमा हामीहरुलाई बिदा गर्न आउनुभएको थियो।

९.३० बजेपछि हामी पनि लाईनमा बस्यौ। बिस्तारै बाटो लाग्यौ। बिमानस्थलको झ्यालबाट हात हल्लाउदै गर्दा सबैको आँखामा आँसु देखिन्थ्यो बरु म आफुलाई सम्हालिरहेको थिए। तर सबैको आँखाबाट बगेका आँशु देखेपछी मेरो मन पनि सम्हालिन सकेन। म भन्दा मेरा साथीहरु केही सम्हालिए जस्तो देख्दै थिए। देश छोड्ने रहर नहुँदा नहुँदै बाध्यताले परदेशीनु परेको यथार्थ थियो।

आफन्त लाई झ्यालबाट हात हल्लाउदै दुखि मन लिएर अब लामो समय कसैसँग भेट नहुने गरी बिमानस्थलको वेटीङ कक्षतिर लागियो। केवल अब आफन्तसँग बिदेश पुगेर फोन मै बोली सुन्नु बाहेक अरु केही बाँकी थिएन। मनमा अनेकौ खुल्दुलीहरु थिए। जापानको भिसा लगाउदा खर्च भएको १३ लाख ऋण तिर्नुपर्छ भन्ने थियो। आशा पनि पलाएको थियो।

एउटा अठोट थियो। ऋण तिर्ने सम्पति कमाउने, घर बनाउने र देश फर्कीने सपना थियो। मन भित्रै समस्या र संका पनि थियो। अध्ययन गर्ने भिसा बोकेर हिँडेको छु। काम गर्ने अनुमति थोरै हुन्छ। नियम भन्दा बाहिर गएर काम गर्यो भने कार्बाही हुन्छ, भिसा नलागेर फर्कीनु पर्छ जस्ता कुराहरु पहिले नै सुनेको थिए। मलाई पनि त्यस्तै हुने हो की भन्ने डर मन भरी थियो तर मनमा आँट थियो मनोबल बलियो थियो। प्लेनमा चढियो। प्लेन उढ्यो।

आकाशमा उढ्दा कस्तो हुन्छ होला भन्ने खुल्दुली बिस्तारै मेटिदै थियो। आकासमा उढिरहेकै बेला उड्ने साधन बनाउनेहरु प्रति मनले धन्यबाद दिदै थियो भने अर्को तिर अनौठो लाग्दै थियो। साथीहरु सँग कुरा गर्दै मनमा कुरा खेलाउदै भबिष्यको योजना बनाउदै ४ घण्टाको हङ्कङ बिमानस्थलको ट्रान्जिट हुदै जापानको फुकुओका बिमानस्थलमा जापानको समय अनुसार दिउसो २:३० बजे प्लेन अवतरण गर्यो। प्लेनबाट बाहिर निस्कियौ। हामी ५ जना नै एउटै बिधालयबाट भिसा लागेकोले सँगै थियौ।

बिमानस्थलको गेट मै बिधालय का २ जना शिक्षकहरु बिधालयको नाम लेखेको झण्डा समातेर बसेका रहेछन् र त्यही झण्डाले हामीलाई चिन्न पनि सजिलो भयो र शिक्षकहरु सँग भेट भयौ परिचय गर्यौ र विद्यालयको गाडी मै चढेर बस्नको लागि विद्यालयको होस्टेल तिर लागियो।

बाहिर पानी परिरहेको थियो। पानी भन्दा पनि हिँउ परिरहेको थियो। हिमालैहिमाल भएको देशमा जन्मेको म तर प्रत्यक्ष हिँउमा भिज्ने अवसर जापान आएकै दिन मै पहिलो अनुभव थियो। नेपाल का हिमालहरु टाढा टाढा देखिन्थ्यो तर हिँउले यसरी भिजेको पहिलो पटक थियो। शिक्षकहरुकै सहयोग मा कोठामा चाहिने सामानहरु किनियो। त्यसै दिन साँझ पख बिधालय मा पनि पुगीयो। बिधालय मा पुगेर सबै शिक्षक हरु पहिले आएका नेपाली र अन्य देशका बिधार्थीहरु सँग को सामान्य परिचय सँगै सुरु भयो जापान बसाईको दिनहरु।

अर्को दिन बाटै पढ्न जान थालियो। उज्यालोमा त्यहाँको बिकास देख्दा अचम्म लाग्थ्यो। कसरी यस्तो बनाउन सकेको होला जस्तो लाग्थ्यो। त्यहाँका सबै नागरिकहरुको मर्यादा पालन नियम पालना आहा साँच्चिकै मनलाई लोभ्याउने थियो। लाग्थ्यो मेरो देश मा यस्तो कहिले होला ? कसरी होला ? यस्तै यस्तै कुरा हरु मनमा खेलीरहन्थे।

उता आफ्नो पढाई र कामको बारे मा पनि सोच्दै थिए। आएको २/३ हप्ता पुग्न लाग्दा पनि कामको मेलोमेसो केही थिएन। नेपालबाट कन्सल्ट्यान्सीले पठाउने बेला त गएको अर्को दिनबाटै विद्यालयले काम लगाईदिन्छ भन्थ्यो तर त्यो त सबै प्रलोभन मात्र रहेछ।

यँहा आएपछि बल्ल बिस्तारै थाहा हुँदै थियो। भाषाको कमि, कामको लागि सिमित समय तोकिएको नियम, कामको लागि अनुभवको जरुरी जस्ता समस्या जापानमा थिए भने म मा पनि जापान आँउदा लागेको ऋण तिर्नुपर्ने, ऋण तिर्न नसक्दा ब्याजले ऋण बढ्दै जाने परिवार मा समस्या बढ्दै जाने कुरा मेरो आफ्नो समस्या थियो।

मेरो मात्र नभएर ऋण खोजेर जापान आउने सबै नेपालीको समस्या मेरो जस्तै हुने गर्दछ। उता हामी भन्दा पहिला जापान आएकाहरुसँग सल्लाह र सहयोग लिन खोज्यो भने भाषा सिक्नुपर्छ र काम पाईन्छ भन्ने सल्लाह आउथ्यो। कसै कसैले चाँही आफुहरुले गर्ने काममा लगेर परिचय गराएर काममा लगाईदिन्थे।

कसैसँग सल्लाह लिँदा काम पाईदैन, भिसा लाग्दैन भनेर डर देखाउनेहरु पनि थिए तर सिमीत त्यस्ता व्यक्तिहरु भन्दा बढी नै नेपाली भने पछि ज्यान दिएर सहयोग गर्नेहरु पनि थिए। नेपाली भएकै कारण म आफुले ति डर देखाउनेहरुलाई पनि सम्मान गर्दछु तर ति बास्तविक सहयोगी नेपाली मनहरुलाई म कदापी भुल्न सक्दीन। सँगै पढेको साथी कमल पनि ६ महिना पहिले नै जापान आएको थियो। उसको फोन नम्बर नेपालबाटै लिएर आएको थिए। उसलाई फोन गरेर काम लगाईदिन आग्रह गरे।

घरबाट फोन गरेर काम गर्न लागिस भनेर सोधे भने घरमा चिन्ता गर्छन कि भनेर अँ काम गर्छु भनेर भन्दथे। झुटो नबोलौ घरमा चिन्ता लिन्छन भन्ने थियो। झुटो बोल्दा फेरी अर्को महिनाबाट पैसा पठाईदे भनेर भने मा कसरी पठाउने डर थियो। जे सुकै होस् तत्काल लाई झुटो बोलेपछी अर्को महिना भगवानले बाटो लाउछन काम पनि पाईएला भन्ने थियो।संयोग नै भन्नुपर्छ कमले काम गर्ने ठाँउमा एउटा कामको अवसर रहेछ। उसले मलाई फोन गरेर बोलायो। दिउसो पढ्न जान्थे।

राती काम गर्थे। तर अझै पनि मसँग आएका साथीहरुको ठेगान थिएन। बिस्तारै नेपालबाट ल्याएको पैसा सबै सँग सकिदै थियो। म आफू मेरो खुशी मा मात्र खुशी रहन सक्दैन थिए। विद्यालयमा पनि दिनँहु शिक्षकहरुलाई गाली गर्दै थियौ । बिस्तारै २ महिना बित्दै थियो। मेरो काम पनि छोटो समय को लागि भएकोले कन्ट्याक सकियो। २ महिना पछि भने सबैलाई विद्यालयले हप्ता मा २८ घण्टा काम गर्ने नियम अनुसार को काम लगाईदियो।

एउटा काम गरेर जापान मा पढ्न र जिउन त गार्हो थियो नै त्यस भन्दा बढी आँउदा लागेको ऋणको बोझले प्रत्यक समय सताउने गर्दथ्यो। भिनाजु सँग सापटी लिएर २ लाख घर पठाएको थिए तर आफुले कमाएको त खाँदा बस्दा नै सकिन्थ्यो। विद्यालयको नियम अनुसार ६ महिना पुगेपछी होस्टेल छाड्नुपर्ने थियो। जापानमा नँया कोठा लिन को लागि कम्ती मा पनि १ लाख त सुरुमै एडभान्स बुझाउनुपर्ने रहेछ। कोठा पनि सरियो। ६ महिना पछि चाँही सामान को ढुवानी गर्ने यामातो कम्पनी मा आफै ईन्टरभ्यु दिएर काम गर्न थालियो।

त्यहाँ धेरै बिदेशी र अझै बढी त नेपालीहरुले नै काम गर्ने हुँदा काम मा भाषा र अन्य कुरा मा सहज हुन्थ्यो। बिहान ८ बजे बाट १२ बजे सम्म एउटा काम गर्दथे। १ बजे बाट ५ बजे सम्म पढ्नुपर्दथ्यो। कोठा मा पुग्न साईकल बाट ४५ मिनेट लाग्दथ्यो। फेरी कोठा मा पुगेर खाना पकाएर २ घण्टा सुतेपछी मोबाईल को आलर्म ले बिउझाउदथ्यो। रात को १२ बजे बाट बिहान ६ /६:३० बजे सम्म यामातोमा काम हुन्थ्यो। त्यो काम सकेर बिहान को काम बिहान को काम सकेर स्कुल।

कोठामा पुगेर सुत्न नपाउदै अर्को काम बिहान गर्ने काम पनि शनिबार आईतबार या रातो बिदा मा ८ बजे देखी ५ बजेसम्म हुन्थ्यो। नत सुत्ने समय मिल्थ्यो। नत मिठो मसिनो आफ्नो हातले पकाएर खाने समयनै मिल्दथ्यो। मार्केटमा आउने ब्रेड र ईनर्जी डिङ्कको भर मा जिन्दगी चलिरह्यो। कैले कामको ब्रेक टाईम त कहिले स्कुलमा पढ्दा पढ्दै को सुताई अनि कहिले ट्रेनको यात्रामा ट्रेन भित्रै सुतेर मेरो निन्द्रा पुगिरहेको थियो। मेरो मात्र हैन जापानमा सबै बिधार्थीको अवस्था अहिले पनि यस्तै छ।

यो मेरो र अरु कसैको रहर हैन बाध्यता हो। प्रत्यक महिनाको महँगो भाडा यहाँको मँहगी प्रत्यक बर्ष विद्यालयलाई तिर्नु पर्ने लाखौ शुल्क अनि केही बच्यो भने आँउदा खर्च भएको १३ लाख घटाउने चाहाना। यसै गरि जीन्दगी चलिरह्यो। भाषा बिधालय को पढाई सकेर आफ्नो रोजाई को बिषय पढ्ने दिन आयो। पढ्न सुरु गर्नुपुर्व नै ५ देखि १०/१२ लाख एक बर्ष को शुल्क लाग्ने विद्यालयमा तिर्नु पर्ने र मात्र भिसा लाग्ने नियम अनि भिजा लाग्नको लागि नियमित विद्यालय जानु पर्ने नियम यहाँ हुने गर्दछ।

कति त बिचमै पैसा तिर्न कठिन भएर , भिसा नलागेर बिचमै शरणार्थीको लागि आबेदन दिन जापानको अध्यागमन पुग्ने गर्दछन्। यो कसैको रहर हैन सबै को आफ्ना आफ्ना समस्या छन् अनि मर्न भन्दा बौलाउन निको भनेझै राष्ट्र को माया हुँदाहुँदै स्वाभीमान लाई धितो राखेर, राष्ट्र को स्वाभिमान पछि फिर्ता लिने कल्पना बुनेर शरणार्थीको लागि निबेदन दिने गर्दछन्।

अहिले त म जापान आएको पनि २ बर्ष ६ महिना पुगेछ। आएपछि घर फर्केको पनि छैन फर्कीनु पनि कसरी आँउदा लागेको ऋण नै तिरेर सकिएको छैन। घर फर्कीन मन लाग्छ। देशमा यो बेला महाभूकम्प पछिको बिपतमा मलम लगाउन फर्कीनुपर्छ भन्ने लाग्छ। लाखौ घर भत्किदा मेरो घर पनि भत्किएको छ। हजारौले आफन्त गुमाउदा मैले पनि आफन्त गुमाएको छु।

त्यो भन्दा ठुलो कुरा त १०औ हजार नेपाली गुमाएको छु। एक मनले अब देश फर्कीनु पर्छ भन्छ अर्को मनले जापान आँउदा लिएर आएको सपना पुरा भएकै छैन कसरी फर्कनु भन्छ। म आफै दोधार मा छु। नत देशमा सरकार र राजनितीक दल ले नै परदेशीएका नेपाली फर्काउने र नवनिर्माणमा रोजगारी मा लगाउने बिश्वसनिय बातावरण नै बनाएको छ।

हामी परदेशमा नारकीय जिवन बिताउन बाध्य छौ। देश नै रेमिट्यान्सले चलेको छ यो भन्दा के नै भन्नु छ र ! देश मा आफ्नो भन्ने छँदै छैन। सबै देश बिदेशी को ऋण र अनुदान ले चलेको छ। अनि भएर पनि हाम्रा स्रोत र साधन को सदुपयोग हुन नसक्दा देश नै मागेर चलाउनु परेको छ। बर्षेनी लाखौ बेरोजगार हरुको उत्पादन गर्न मै त्यहाँका विद्यालयहरुको प्रतिस्प्रधा चलेको छ।

भूकम्पले पारेको महाबिपतमा सहयोगको लागि सरकार र हामी नागरिकले बिदेशीहरु सामु हात थापीरहेका छौ। मेरो देश नै अरु देशसामु बारम्बार शरण गर्दैछ। त्यसैले हामी नेपाल बाट परदेशीने सबै नेपाली पहिचान नखुलेका शरणार्थी हौ। जापान मा पनि समस्या यही हो।

४० हजारको हाराहारी नेपाली रहेको जापानमा ५ हजारले शरणार्थीको पहिचान माग्दै गर्दा अरु ३५ हजार नेपाली पहिचान नखुलेका शरणार्थी हौ। र संसारका बिभिन्न मुलुकमा रोजगारको लागि धाउने ४०/४५ लाख युवाहरु र धाउन चाहाने ४०/४५ लाख युवाहरु सबै पहिचान नखुलेका शरणार्थी हौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?