जापानी माझीले किन जालमा परेका सबै ‘ब्लूफिन टुना’ माछा ल्याउन पाएनन् ?

|

टोकियो । गत मे महिनामा जापानी माझी तादासुके नाकामुराले जापानको उत्तरी टापु होक्काइदोको हाकोदातेस्थित प्रशान्त महासागरीय तटमा राखेको आफ्नो जालमा अस्वाभाविक रूपमा ठूलो परिमाणमा ‘ब्लूफिन टुना’ माछा परेको देखे ।

जापानमा चर्चित परिकार सुसीका लागि निकै महँगो मानिने यो माछा सयौँको संख्यामा जालमा भरिएका थिए । तर उनले तीमध्ये धेरैलाई त्यसै छोडिदिनु पर्‍यो ।

जापानमा माछा मार्ने वार्षिक कोटा निर्धारण गरिएको हुन्छ । यदि नाकामुराले त्यो सबै माछा त्यसबेला ल्याएको भए जाडो महिनाका लागि उनले पाउने कोटा सकिन्थ्यो । जाडो महिनामा समातिने ब्लूफिन टुना बढी बोसोयुक्त, स्वादिलो र बजारमा निकै महँगो मूल्यमा बिक्री हुने गर्दछ ।

‘जालमै परेका माछाहरूलाई त्यसै छोडिदिनु पर्दा साँच्चै दुःख लाग्छ,’ नाकामुराले भने ।

जापानका माझीहरूले यस वर्ष आसपासका समुद्रहरूमा कुनै समय लोपोन्मुख अवस्थामा पुगेको ब्लूफिन टुना माछाको संख्यामा अस्वाभाविक वृद्धि भएको बताएका छन् ।

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण माछाहरूको बसाइँसराइको ढाँचामा आएको परिवर्तन यसको एउटा कारण हुन सक्छ ।

यो घटना जलवायु परिवर्तनले समुद्री जीवहरूमा कसरी परिवर्तन ल्याइरहेको छ र लामो समयदेखि समुद्रमै जीविकोपार्जनका लागि निर्भर रहेकाहरूमा यसको कस्तो गम्भीर असर परिरहेको छ भन्ने कुराको अर्को उदाहरण हो ।

नाकामुराको गृहसहर हाकोदातेमा माछापालन उद्योग पहिले नै कुनै समय जताततै पाइने ‘स्क्विड’ माछाको संख्यामा आएको तीव्र गिरावटसँग जुधिरहेको छ ।

कोटाले सीमित पार्‍यो माछाको परिमाण

नाकामुराजस्तै धेरै माझीहरूले सिजनको सुरुवातमै यो प्रजातिको माछा प्रचुर मात्रामा हुँदाहुँदै पनि त्यसबाट आर्थिक लाभ लिन सकेका छैनन् ।

सन् २०१५ देखि लागू भएको अन्तर्राष्ट्रिय कोटा प्रणालीअनुसार जापानले यस वर्ष पश्चिमी र केन्द्रीय प्रशान्त महासागरीय क्षेत्र (जुन न्युजिल्याण्डको दक्षिणसम्म फैलिएको छ र पृथ्वीको कुल सतहको करिब पाँच भागको एक भाग ओगट्छ) बाट ३० केजी वा सोभन्दा बढी वजन भएका ८ हजार ४२१ मेट्रिक टनभन्दा बढी ब्लूफिन टुना मार्न पाउँदैन ।

यस वर्ष र गत वर्षका लागि जापानको कोटा सन् २०२४ को तुलनामा ५० प्रतिशतले बढाइएको भए तापनि ब्लूफिन टुनाको संख्यामा भएको अत्यधिक वृद्धिका कारण धेरै जापानी माझीहरू आफ्नो सन् २०२६ को कोटा सीमाको नजिक पुगिसकेका छन् ।

जाल थापेर माछा मार्ने माझीहरूले टुना माछालाई जालबाट मुक्त गर्दा आफूले समात्न खोजेका अन्य माछाहरू पनि उम्किने र यसले गर्दा उनीहरूको आम्दानीमा घाटा भइरहेको बताएका छन् ।

मत्स्य पालन एजेन्सीको तथ्यांकअनुसार गत अप्रिलमा जापानको तटमा समातिएका ठूला आकारका ब्लूफिन टुनाको परिमाण गत वर्षको तुलनामा झण्डै दोब्बर भएको थियो ।

ठूला टुनाका लागि उच्च कोटा प्रस्ताव गर्दै जापान

यस समस्याको समाधानका लागि जापानले कोटा परिमार्जनको प्रस्ताव गरिरहेको छ । जापानले एउटा यस्तो स्वचालित सूत्रलाई समर्थन गरिरहेको छ जसलाई न त धेरै आक्रामक न त धेरै अनुदारवादी मानिन्छ ।

यसले आगामी वर्ष पश्चिमी र केन्द्रीय प्रशान्त क्षेत्रमा ठूला आकारका ब्लूफिन टुना माछा मार्ने कोटालाई २५ प्रतिशतले बढाउनेछ ।

यसका साथै प्रजनन गर्ने माछाहरूको संख्या जोगाउनका लागि ३० केजीभन्दा कम तौल भएका ब्लूफिन टुनाको कोटालाई ६ प्रतिशतले घटाउने प्रस्ताव गरिएको जापानको मत्स्यपालन एजेन्सीले जनाएको छ ।

यस क्षेत्रका बसाइँसराई गर्ने माछाहरूको मौज्दात व्यवस्थापन गर्ने जिम्मेवार निकाय ‘वेस्टर्न एण्ड सेन्ट्रल प्यासिफिक फिसरिज कमिसन’ को कार्यदलको बैठक बुधबार नागासाकीमा सुरु भएको छ ।

आगामी दुई वर्षका लागि कोटाको अन्तिम निर्णय डिसेम्बरमा भानुआटुमा हुने कमिसनको नियमित सत्रमा गरिनेछ ।

किन्दाइ विश्वविद्यालयको वल्र्ड इकोनोमी रिसर्च इन्स्टिच्युटका प्राध्यापक मासाहिको अरिजीले वर्षौंदेखिको संरक्षण प्रयासलाई संकेत गर्दै भने, ‘ब्लूफिन टुनाको संख्या बढ्नुको एउटा कारण स्रोत व्यवस्थापन सफल हुनु हो ।’

समुद्रको परिवर्तनशील तापक्रमले ब्लूफिन टुनासहित बसाइँसराइ गर्ने प्रजातिहरूको मार्ग पनि बदलिरहेको अन्तर्राष्ट्रिय गैर–नाफामूलक संस्था ‘मरीन स्ट्युअर्डसिप काउन्सिल’ ले नोभेम्बरमा प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
डब्लुसीपीएफसीका अनुसार कोटा प्रणालीले अत्यधिक माछा मार्ने कार्यलाई सफलतापूर्वक अन्त्य गरेको छ र सन् २०१० मा १२ हजार टन मात्र रहेको प्रजनन योग्य माछाको कुल संख्यालाई बढाएर सन् २०२२ मा १४४ हजार टन पुर्‍याएको छ ।

‘यदि कोटा ठूलो भइदिएको भए, हामीले ठूलो परिमाणमा माछा समात्न सक्ने थियौं,’ पश्चिमी प्रिफेक्चर फुकुईका माझी तोसिहारु उरातानीले भने । उनले आफ्नो ६ महिनाको कोटा सुरुको तीन महिनामै पूरा गरिसकेका छन् ।

उनले थपे, ‘अहिलेको अवस्थामा हामीले माछाहरूलाई छाडिदिनु परिरहेको छ, जसको अर्थ हाम्रो मिहिनेत खेर गइरहेको छ । यी टुना माछाहरू हाम्रा लागि तगारो बनिरहेका छन् ।’