चैत्राष्टमी मेला २०२६ मा भलिबल खेलाडी थापा र लोकप्रिय गायक खड्का सम्मान

|

चैत्राष्टमी मेला २०२६ का अवसरमा कुशल भलिबल खेलाडी भविन थापा र लाेकप्रिय गायक सूर्य खड्का सम्मानित भएका छन् ।

बागलुङमा जन्मिएर नेपाली लोक दोहोरी र खेलकूद क्षेत्रमा उल्लेख्य भूमिका खेलेबापत खेलाडी थापा र गायक खड्का जापानमा सम्मानित भएका हुन्।

बागलुङमा जन्मिएका सूर्य खड्काले नेपाली लोक दोहोरी गीतका माध्यमबाट नेपाली संस्कृति र संगीतलाई विश्वभर रहेका नेपाली गीत संगीतप्रेमी माझ फैलाउन सक्रिय खड्कालाई ‘बागलुङ रत्न’ सम्मान प्रदान गरिएको हो।

यो सम्मान उनको संगीत र सांस्कृतिक योगदानको कदरस्वरूप गरिएको हो । खड्का जापानमा एक चर्चित लोक दोहोरी गायकका रूपमा स्थापित छन्।

नेपाली संगीत र लोकगीतलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका उनका दर्जनौं सिर्जनाहरू चर्चाको शिखरमा समेत रहेका छन्। विशेष गरी विदेशमा रहेका नेपाली समुदायका पीडा बेदना र भावनालाई गीत संगीतमार्फत् सृजना गर्दै आईरहेका खड्काले सांगीतिक यात्रामा कष्ट र संघर्षलाई पार गर्दै नेपाली लोक गीतको सम्मान र लोकप्रियता जोगाइराखेका छन्।

‘बाग्लुङ रत्न’ सम्मान प्राप्त गर्न पाउँदा अत्यन्तै भावुक, खुसी र गौरवान्वित भएको उनले प्रतिक्रिया दिएका छन्।

लोकगीत संगीतको यात्रामा आफूले सधै मनबाट कर्म गर्दै हिँडेको मान्छे बताउँदै उनले यही कर्मलाई माया गरेर दिएको सम्मानले मनलाई गहिरो रूपमा छोएको उनको भनाइ छ।

गीत संगीत केबल पेसामात्र नभइ आफ्नो जीवनको धड्कन भएको भन्दै उनले यही यात्रामा दर्शक–स्रोताको माया, समाजको विश्वास र आफ्ना अग्रजहरूको आशिर्वादले नै आज यहाँसम्म ल्याएको बताए ।
यो सम्मानले खुसी दिलाउनुका साथै आगामी दिनमा अब अझ राम्रो काम गर्दै अघि बढ्नुपर्ने ठूलो जिम्मेवारी पनि थपिदिएको उनले बताए ।

कार्यक्रममा बोल्दै बागलुङ समाजका अध्यक्ष गुरुप्रसाद सापकोटाले गायक खड्काले आफ्नो संगीतको माध्यमबाट नेपाली लोकगीतलाई जापानी समुदायमा चिनाउन विशेष भुमिका निर्वाह गरेकोमा खुसी व्यक्त गरे ।
उनले नेपाली संस्कृति र पहिचानलाई पनि मजबुत बनाएको भन्कादै उनको योगदान असाधारण रहेको बताए ।

यसैगरी बागलुङ जिल्लाको गलकोट नगरपालिकामा जन्मिएका अनुभवी भलिबल खेलाडी भविन थापालाई पनि चैत्राष्टमी मेला २०२६ को अवसरमा सम्मानित गरिएको छ।

थापा एक कुशल, अनुशासित र समर्पित खेलाडी हुन् । उनले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा ठूलो योगदान पुर्याएका छन्।

उनको खेलकुदमा सशक्त भूमिका र निरन्तर परिश्रमले नेपाली भलिबलको स्तरलाई विशेष गरी जापानमा नयाँ उचाइमा पुर्याएको छ।

यस्ता खेलाडीहरूको कदर र सम्मान गर्नु आजको खेलकुद संस्कृति र नयाँ पुस्ताका खेलाडीहरूको लागि प्रेरणादायक बन्ने आयोजकले जनाएको छ ।
आफ्नो कार्यक्षेत्र जापान बनाएका थापाले भलिबलको माध्यमबाट खेलको स्तर सुधार्ने मात्र नभई खेलाडीहरूको शारीरिक र मानसिक अनुशासनको महत्त्व पनि बुझाउन पनि उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

यसैबीच, बागलुङ समाजले आफ्नो चोथो रनिङ कप पुरुष भलिबल प्रतियोगिता–२०२६ को आयोजना पनि सफलतापूर्वक सम्पन्न गरेको छ।

मार्च महिनाको ४ तारिखमा तोड़ा स्पोर्ट्स सेन्टरमा सम्पन्न भएको प्रतियोगितामा घुम्टे युवा परिवार जापान विजेता भयाे भने उपविजेता भने पिरो स्पोर्ट्स क्लब भएको थियो ।

खेलकुद संयोजक बसन्त थापाले प्रतियोगितामा नेपाली भलिबलको स्तरमा वृद्धिको आशा गरेको भन्दै यसपटक पनि राम्रो प्रतिस्पर्धा देख्न पाउँदा खुसी लागेको बताए ।

यसले जापानमा भलिबलको लोकप्रियता बढाउने र भलिबल खेल र खेलाडी युवा प्रतिभाहरूलाई प्रोत्साहित गर्ने काम गर्ने विश्वास व्यक्त गरे ।