
टोकियो । जापानलाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारितामा क्रियाशील तिलक मल्ललाई ‘प्रवास पत्रकारिता पुरस्कार २०२६’ प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ जापान शाखाको १५औं स्थापना दिवसको अवसरमा जापानमा रहेर नेपाली पत्रकारितामा निरन्तर योगदान पुर्याउँदै आएका मल्ललाई सो पुरस्कार प्रदान गरिएको हो ।
सन् १९९९ देखि पत्रकारितामा सक्रिय रहँदै आएका मल्लले जापानको टोकियोमा रहेर समुद्रपारी डटकम सञ्चालन तथा प्रकाशन गर्दै आएका छन् ।
मल्ललाई कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास जापानका कार्यबाहक राजदूत हरिहरकान्त पौडेलले नगद ५० हजार येन तथा सम्मान पत्र प्रदान गरेर सम्मानित गरेका थिए ।

उक्त पुरस्कारको प्रायोजन रेमिट्यान्स सेवा प्रदायक कम्पनी फोरेक्स जापानले गरेको हो । पत्रकारितामार्फत नेपाली समुदायका आवाज, समस्या, गतिविधि र प्रवास जीवनका विविध पक्षलाई निरन्तर उजागर गर्दै आएका मल्ल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्षसमेत हुन् ।
पत्रकार महासंघ जापान र फोरेक्स जापानबीच प्रवास पत्रकारिता पुरस्कारका लागि तीन वर्षे प्रायोजन गर्ने सहमति भएको पत्रकार महासंघ जापानका अध्यक्ष रबिन्द्र श्रेष्ठले जानकारी दिए ।

