
टोकियो । गायक सज्जनराज वैद्य लाइभ कन्सर्टका लागि कलाकार टोलीसहित जापान आइपुगेका छन्। आगामी मार्च १० मा टोकियोमा आयोजना हुने कन्सर्टका लागि उनीसहित १५ जना कलाकारको टोली जापान पुगेको हो।
कलाकार टोलीलाई आयोजक समितिका संयोजक बिरेन्द्र शाही लगायत आयोजक टिमले हानेदा विमानस्थलमा स्वागत गरेका थिए। कन्सर्ट टोकियोस्थित योयोगी नेशनल स्टेडियममा आयोजना हुने भएको छ।
तन्नेरी पुस्तामाझ अत्यधिक लोकप्रिय सज्जनराज वैद्यको कार्यक्रम जापानमा पहिलोपटक आयोजना हुन लागेको हो। कन्सर्टमा सज्जनराज वैद्य र उनको ब्याण्डले आफ्ना चर्चित गीतमार्फत जापानका दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ।
कन्सर्टमा करिब ४ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको संयोजक शाहीले बताए।
जिएमटी इन्टरनेशनल क. लि. को मुख्य ब्यानरमा आयोजना हुन लागेको उक्त कन्सर्टमा येहे रेमिट्यान्स इभेन्ट पार्टनरका रूपमा रहेको छ भने रिलायबल लाइफ इन्स्योरेन्स मुख्य प्रायोजक रहेको छ।
समुद्रपारि डट कम मिडिया पार्टनर, डिसी क्रियशन प्रमोशन पार्टनर तथा डिएनएस कम्पनी हस्पिटालिटी पार्टनरका रूपमा आबद्ध रहेका छन्।






