
टोकियो। जापानको यातायात मन्त्रालयले देशभित्र तथा देश बाहिर उडान गर्ने विमानहरूमा मोबाइल ब्याट्री (पोर्टेबल चार्जर) को प्रयोगमा कडा प्रतिबन्ध लगाउने तयारी गरेको छ।
एनएचकेका अनुसार आगामी अप्रिल महिनादेखि यो नियम लागू हुने सम्भावना रहेको छ।
नयाँ व्यवस्थाअनुसार यात्रुहरूले विमानको क्याबिनभित्र मोबाइल ब्याट्री प्रयोग गरेर स्मार्टफोन वा अन्य उपकरण चार्ज गर्न पाउने छैनन्। साथै, सिटमा उपलब्ध पावर आउटलेट प्रयोग गरेर मोबाइल ब्याट्री चार्ज गर्नसमेत प्रतिबन्ध लगाइनेछ।
यो निर्णय यात्रु विमानभित्र लिथियम–आयन ब्याट्रीमा आगलागी वा धुवाँ निस्किने घटना बढ्दै गएपछि गरिएको हो। नागरिक उड्डयन ऐन अन्तर्गतको दिशानिर्देशनमा यो संशोधन समावेश गरिने जनाइएको छ।
संशोधित नियमअनुसार प्रत्येक यात्रुले क्याबिनभित्र लैजान पाउने पोर्टेबल चार्जरको संख्या पनि अधिकतम दुईवटामा सीमित गरिनेछ।
यसअघि नै केही विदेशी एयरलाइन्सहरूले विमानभित्र मोबाइल ब्याट्रीको प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन्। यस विषयमा अन्तर्राष्ट्रिय स्तरमा पनि छलफल अघि बढिरहेको छ, र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले समेत यसलाई नियमन गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको छ।
स्मरणीय छ गत जनवरीमा दक्षिण कोरियाको बुसानबाट उडान तयारीमा रहेको एक विमानमा भएको आगलागीको कारण ओभरहेड बिनमा राखिएको मोबाइल ब्याट्री भएको अनुमान गरिएको थियो।
त्यसैगरी, गत सेप्टेम्बरमा जापान एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमा स्मार्टफोन चार्ज गर्ने क्रममा मोबाइल ब्याट्रीबाट धुवाँ निस्किएको घटना पनि सार्वजनिक भएको थियो।
यस्ता घटनालाई ध्यानमा राख्दै जापानले यात्रु सुरक्षालाई प्राथमिकता दिँदै नयाँ नियम लागू गर्न लागेको हो।







