
टोकियो । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले खाद्य तथा पेय पदार्थमा लाग्ने उपभोग कर दुई वर्षका लागि निलम्बन गर्ने लक्ष्य सकेसम्म छिटो कार्यान्वयन गर्ने बताएकी छन् ।
आमनिर्वाचनमा आफ्नो लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को निर्णायक जितपछि सर्वदलीय छलफलमार्फत सकेसम्म छिटो यो योजना कार्यान्वयन गर्ने उनको भनाइ थियो ।
बुधबार संसदमा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ताकाइचीले प्रस्तावित कर कटौती कहिले लागू हुन्छ भन्ने ठ्याक्कै समय भने खुलाइनन् । सत्तारूढ र विपक्षी दलका सांसदहरूले संसदको आगामी सत्रमा विस्तृत विवरणमा छलफल गर्ने अपेक्षा गरिएको छ ।
ताकाइची नेतृत्वको सत्तारूढ गठबन्धन र विपक्षी दलहरूले हाल ८ प्रतिशत रहेको कर दर घटाउने तयारी गरिरहेका छन् । निरन्तर महँगीका कारण प्रभावित भएका जनतालाई राहत दिन यो कदम चाल्न लागिएको हो ।
ताकाइचीले सक्रिय तर जिम्मेवार ढंगले राजकोषीय खर्च बढाउने आफ्नो अडान दोहोर्याइन् । देशको संकट व्यवस्थापन तथा भविष्यको आर्थिक वृद्धिका लागि लगानी अत्यावश्यक रहेको उनको भनाइ थियो ।
उनले बैंक अफ जापानले मूल्य स्थिरता र तलब वृद्धि दुवै हासिल गर्न ‘उपयुक्त’ मौद्रिक नीति अपनाउने आशा व्यक्त गरिन्, जसमा सरकारसँग नजिकको समन्वय रहने उनले बताइन् ।
अधिक राजकोषीय प्रोत्साहनको अपेक्षाले जापानी सेयर बजारमा वृद्धि भएको छ । तर विकसित अर्थतन्त्रहरूमध्ये सबैभन्दा कमजोर मानिने देशको राज्यकोषमा भने यसको असर पर्नसक्ने चिन्ता बढेको छ ।
फेब्रुअरी ८ को निर्वाचनमा सुरक्षा मामिलामा कडा नीति राख्ने नेताका रूपमा चिनिने ताकाइचीलाई मतदाताले स्पष्ट जनादेश दिए पनि आफूलाई जे मन लाग्यो त्यही नीति लागू गर्ने स्वतन्त्रता प्राप्त भएको नठान्ने बताएकी छन् ।







