
टोकियो । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले उत्तर कोरियाली नेता किम जोंग उनसँग शिखर वार्ता गनए आफू तयार रहेको बताएकी छन् ।
उत्तर कोरियाले जापानी नागरिक अपहरण गरेको घटनालाई समाधान गरेर शान्तिपूर्ण भविष्य सुनिश्चित गर्न आवश्यक रहेको उनले बताएकी छन् । उत्तर कोरियाले अपहरण गरेका जापानी नागरिकका परिवारसँग भेटका क्रममा उनले यस्तो टिप्पणी गरेकी हुन् ।
‘जापान र उत्तर कोरिया दुवैले शान्ति र समृद्धि अनुभव गर्ने भविष्य निर्माण गर्न सकून् भन्ने उद्देश्यले म किमसँग शिखर बैठकका लागि तयार छु,’ ताकाइचीले भनिन् ।
उत्तर कोरियाद्वारा अपहरण गरिएका जापानी नागरिकका परिवारहरूले आफ्नो अडान केही नरम बनाएका बेला प्रधानमन्त्री ताकाइचीको भेट भएको हो । उनीहरुले सबै पीडितलाई जापान फर्काउन सरकार सफल भएमा आफूहरु पनि लचिलो बन्न तयार रहेको उनीहरुको भनाई छ ।
आइतबार टोकियोमा भएको भेलामा अपहृतका आफन्त र समर्थक संगठनहरूले मानवीय सहायताका रूपमा जापानले उत्तर कोरियालाई सहयोग दिन, एकतर्फी प्रतिबन्ध हटाउन वा कूटनीतिक सम्बन्ध सामान्यीकरणका वार्ता सुरु गर्न विरोध नगर्ने नीति अनुमोदन गरेका थिए । यसको उद्देश्य सबै पीडितलाई सुरक्षित रूपमा फिर्ता ल्याउनु हो ।
उत्तर कोरियाद्वारा अपहरण गरिएका जापानी नागरिकका परिवारहरूको संगठन र उद्धारका लागि राष्ट्रिय संगठनले फर्किएका पीडितहरूसँग अन्य पीडितबारे जानकारी बाहेक थप विवरण नसोध्ने निर्णय पनि गरेका छन् ।
अपहरण गरिएकी मेगुमी योकोताका भाइ ताकुया योकोताले पत्रकार सम्मेलनमा यो निर्णय ‘पीडादायी’ भएको बताए । उनकी दिदी सन् १९७७ मा १३ वर्षको उमेरमा उत्तर कोरियाली एजेन्टको अपहरणमा परेकी थिइन् ।
ताकाइचीले उत्तर कोरियासँग ठोस परिणाम निकाल्न सम्भव सबै उपाय अपनाउने बताएकी छन् ।
जापानले सन् १९७० र १९८० को दशकमा उत्तर कोरियाद्वारा अपहरण गरिएका १७ जनाको आधिकारिक सूची बनाएको छ ।
सन् २००२ अक्टोबरमा प्योङयाङमा भएको ऐतिहासिक वार्तापछि पाँच जना जापान फर्किएका थिए । त्यो वार्ता उत्तर कोरियाका तत्कालीन नेता किम जोंग इल र तत्कालीन जापानी प्रधानमन्त्री जुनिचिरो कोइजुमीबीच भएको थियो ।
तर त्यसपछि उल्लेखनीय प्रगति भएको छैन । हाल जापान र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध छैन । प्योङयाङले भने अपहरण मुद्दा समाधान भइसकेको दाबी गर्दै आएको छ ।







