प्राचीन जापानमा सिंह रहेको जीवावशेषबाट पुष्टि

टोकियो । दशौं हजार वर्षअघि जापानी द्वीप समूहको फराकिलो क्षेत्रमा सिंहको बसोबास रहेको तथ्य पत्ता लागेको छ ।
पहिले बाघको जीवाश्म ठानिएका नमूनाहरू लोप भइसकेको सिंहका भएको अनुसन्धानकर्ताहरुलेव पुष्टि गरेका छन् ।

गत जनवरीको अन्त्यतिर प्रकाशित एक अध्ययनअनुसार अनुसन्धानकर्ताहरूले पहिले बाघको जीवाश्म मानिएका नमूनाबाट डीएनए र प्रोटिन निकालेर विश्लेषण गरेका थिए । जसबाट ती नमूनाहरू लोप भइसकेको ‘केभ लायन’ को भएको पुष्टि भएको हो ।

यो अध्ययन जापानमा सिंहको अस्तित्व रहेको सम्भावना खोज्न गरिएको थियो । जापान मध्यपूर्वदेखि रूसी सुदूर पूर्वसम्म फैलिएको सिंह–बाघ संक्रमण क्षेत्रको पूर्वी किनारमा पर्छ । गुफा सिंह उत्तरी युरेसियामा बस्थे भने बाघहरू अझ दक्षिणतिर पाइन्थे ।

टोलीले जापानभर भेटिएका २६ वटा उप–जीवाश्मबाट सुरक्षित जैविक अंश संकलन गर्‍यो । तीमध्ये पाँच नमूनाबाट प्राप्त माइटोकन्ड्रियल र न्यूक्लियर डीएनए तथा प्रोटिनलाई अन्तर्राष्ट्रिय डाटासँग तुलना गर्दा सबै सिंहकै रहेको पुष्टि भयो ।

सिंहहरू करिब १० लाख वर्षअघि अफ्रिकाबाट बाहिरिएर युरेसियाभर फैलिएको अनुमान गरिन्छ । हिमयुगका बेला समुद्री सतह घट्दा जापानको उत्तरी भाग महादेशसँग जोडिएको र सोही समयमा (झण्डै ७३ हजारदेखि ३८ हजार वर्षअघि) सिंहहरू जापानी द्वीपसमूहमा प्रवेश गरेको मानिन्छ ।

यामागुची प्रिफेक्चरमा भेटिएको एक नमूनाले सिंहहरू पश्चिमी जापानसम्म फैलिएको देखाउँछ । मानवहरू झण्डै ४० हजारदेखि ३५ हजार वर्षअघि जापान पुगेका थिए । तर गुफा सिंहहरू करिब १० हजार वर्षअघि लोप भएको विश्वास गरिन्छ ।

जापानमा ठूला बिरालो प्रजातिका जीवाश्म उत्तरपूर्वी आओमोरीदेखि दक्षिणपश्चिमी ओइता प्रिफेक्चरसम्म भेटिएका छन् । लामो समयसम्म ती जीवाश्म बाघकै मानिन्थे । किनकि जापानको न्यानो र आद्र्र मौसम बाघका लागि उपयुक्त ठानिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?