
टोकियो । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले निर्वाचनमा प्राप्त गरेको दुई तिहाईभन्दा ठूलो जितले आफ्नो सरकारलाई महत्त्वपूर्ण नीतिगत परिवर्तन गर्न जनादेश प्राप्त भएको बताएकी छन् ।
निर्वाचनको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा ताकाइचीले जापानले आफ्नो अत्यधिक वित्तीय कडाइबाट बाहिर निस्कनुपर्ने र आफूले अघि सारेको जिम्मेवार तर आक्रामक वित्तीय नीति कार्यान्वयन गर्नुपर्ने बताएकी छन् ।
साथै, लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) नेतृत्वको सत्तारूढ गठबन्धन माथिल्लो सदनमा अझै अल्पमतमा नै रहेकाले विपक्षी दलहरूसँग सहकार्य जारी राख्ने पनि स्पष्ट पारेकी छन् ।
उनले एडीपीको लामो समयदेखिको लक्ष्य रहेको संविधान संशोधनतर्फ पनि काम गर्ने बताएकी छन् । निर्वाचनमा सत्तारूढ गठबन्धनले दुई तिहाइ बहुमत हासिल गरेपछि संविधान संशोधन प्रक्रिया सुरु गर्ने क्षमतातर्फ झन् नजिक पुगेको उनको भनाइ थियो ।
संविधान संशोधन प्रस्तावलाई राष्ट्रिय जनमतसंग्रहमा लैजान संसदका दुवै सदनमा कम्तीमा दुई तिहाइ सांसदको समर्थन आवश्यक हुन्छ । जापानको माथिल्लो सदनको निर्वाचन सन् २०२८ मा हुनेछ ।
एलडीपी र गठबन्धन साझेदार जापान इनोभेसन पार्टी (जेआईपी) ले संविधानमा आपतकालीन धारा समावेश गर्ने लक्ष्य राखेका छन् । जसले ठूलो प्राकृतिक विपत्ति वा सशस्त्र आक्रमणको अवस्थामा सरकारलाई थप अधिकार दिनेछ ।
एलडीपीले आत्मरक्षा बलको कानुनी हैसियत स्पष्ट पार्न पनि माग गर्दै आएको छ । जसबाट ती असंवैधानिक हुन् कि होइनन् भन्ने लामो बहस अन्त्य हुने उसको तर्क छ ।
‘जनताबाट नीतिगत परिवर्तनतर्फ अघि बढ्न बलियो हौसला पाएँ र त्यसका लागि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु,’ ताकाइचीले भनिन्, ‘चुनौती सामना नगर्ने राष्ट्रको भविष्य हुँदैन ।’
खाद्य पदार्थमा लाग्ने ८ प्रतिशत उपभोग कर दुई वर्षका लागि स्थगन गर्ने एलडीपीको चुनावी प्रतिबद्धताबारे उनले अन्तर्दलीय राष्ट्रिय परिषदमा यसको समयतालिका र वित्तीय स्रोतबारे छलफल अघि बढाइने बताइन् ।
अक्टोबरमा पदभार सम्हालेयता ताकाइचीको मन्त्रिपरिषद्को लोकप्रियता उच्च नै रहेकाले एलडीपी र जेआईपीले आइतबार कुल ३५२ सिट जितेका छन् । जसमा पछि एलडीपीले समर्थन गरेका एक स्वतन्त्र सांसद पनि छन् ।
दलगत रूपमा हेर्दा एलडीपी ३१६ सिट जितेको छ । अघिल्लो निर्वाचनमा उसको १९८ सिटमात्रै थियो । ‘निप्पोन इशिन’ नामले चिनिने जेआईपीले आफ्नो सिट संख्या ३६ पुर्याएको छ ।
गत महिनाको अन्त्यतिर विघटन हुनु अघि केही स्वतन्त्र सांसदको समर्थनसहित तल्लो सदनमा उनीहरूको गठबन्धनसँग झिनो बहुमत मात्र थियो ।
उता निर्वाचनले नयाँ रूपमा गठन भएको मुख्य विपक्षी ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ लाई गम्भीर धक्का दियो । जसको सिट संख्या १६७ बाट घटेर ४९ मा झरेपछि प्रमुख नेताहरु योशिहिको नोदा र तेत्सुओ साइटोले राजीनामा दिने घोषणा गरेका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नोदाले पराजयको जिम्मेवारी लिने बताए । सरकारले विशेष संसदीय सत्र बोलाउनेबारे विचार गरिरहेको फेब्रुअरी १८ भित्र पार्टीको नयाँ नेतृत्व तय गरिने जानकारी दिए ।
उक्त विशेष सत्रको सुरुवातमै ताकाइची पुनः प्रधानमन्त्रीमा निर्वाचित हुने अपेक्षा गरिएको छ । उनले मन्त्रिपरिषद्को संरचना परिवर्तन गर्ने योजना नरहेको बताउँदै, जेआईपीलाई मन्त्री पठाउन आग्रह गरेकी छन् ।
अक्टोबरमा गठबन्धन बनाउँदा जेआईपीले मन्त्रिपरिषद् पद नलिने निर्णय गरेको थियो ।







