चुनावमा पराजयपछि मुख्य विपक्षी नेताहरुद्वारा राजीनामाको घोषणा

टोकियो । जापानमा भएको तल्लो सदनको निर्वाचनमा नराम्रो पराजयपछि मुख्य विपक्षी सेन्ट्रिस्ट रिफर्म एलायन्स (सीआरए) नेताहरु योशिहिको नोदा र तेत्सुओ साइटोले हारको जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरेका छन् ।

नोदाले निर्वाचनमा सत्तारूढ दलको दुई तिहाई बहुमतपछि सानाए ताकाइचीलाई जापानको प्रधानमन्त्रीका रूपमा पुनःस्थापित गर्न हुने संसदीय अधिवेशनअघि फेब्रुअरी १८ भित्र नयाँ नेतृत्व चयन गरिने बताएका छन् ।

पार्टी नेतृत्वको चुनावसम्बन्धी कार्यतालिका बुधबार हुने पार्टी बैठकले अनुमोदन गर्नुपर्ने भए पनि सीआरएका एक वरिष्ठ सदस्यले शुक्रबार नै चुनाव गराउने तयारी भइरहेको बताएका छन् ।

नोदा र साइटोले पार्टी बोर्ड बैठकमा आफूहरू राजीनामा दिन चाहेको जानकारी गराएका थिए । यसअघि नोदाले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै निर्वाचनको परिणाम अत्यन्तै पीदादायी भएको बताएका थिए ।

संवैधानिक डेमोक्रेटिक पार्टी अफ जापान (सीडीपीजे) का पूर्व नेता तथा जापानका पूर्व प्रधानमन्त्रीसमेत रहेका नोदाले पार्टी प्रमुखको पदबाट हट्नुअघि आफ्नै पार्टीभित्र अझै गर्नुपर्ने काम बाँकी रहेको बताएका छन् ।

संयुक्त पत्रकार सम्मेलनमा नोदा र साइटो दुवैले पार्टीको नेतृत्वका लागि नयाँ, युवा अनुहार आवश्यक रहेकोमा जोड दिएका थिए ।

पार्टीभित्र विचाराधीन एउटा प्रस्तावअनुसार सम्भावित उम्मेदवारले अपेक्षित अध्यक्षीय चुनावमा उम्मेदवारी दिन कम्तीमा १० जना सहकर्मी सांसदको समर्थन जुटाउनुपर्नेछ । सीडीपीजेका पूर्व नेता केन्ता इजुमी र पार्टीका पूर्व महासचिव जुन्या ओगावा सम्भावित उम्मेदवार मानिएका छन् ।

सामान्य चुनावको ठीक अघिल्लो महिना जनवरीमा गठन भएको यो नयाँ पार्टी, सीडीपीजे र कोमेतो पार्टीका तल्लो सदनका सांसदहरू मिलेर बनेको थियो । यसले ताकाइचीको रूढीवादी गठबन्धनलाई चुनौती दिन र वैकल्पिक शक्ति बन्ने उद्देश्य राखेको थियो ।

तर चुनावपछि यसको सिट संख्या १६७ बाट घटेर ४९ मा झरेको छ । उता, ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी र यसको गठबन्धन साझेदार जापान इनोभेसन पार्टीले ४६५ सदस्यीय सदनमा ३५१ सिट जित्दै दुई–तिहाइभन्दा बढी बहुमत हासिल गरेका छन् ।

यो गठबन्धनले आवश्यक समर्थन जुटाउन सकेन र कोमेतो समर्थक सोका गक्काइ—जापानको सबैभन्दा ठूलो साधारण बौद्ध संगठन—लगायतका आफ्ना आधार समर्थकहरूलाई पनि एकताबद्ध गराउन असफल भयो । विशेष गरी केही हप्ताअघि मात्र फरक–फरक धारमा रहेका सांसदहरूको पार्टीलाई एउटै बनाउन नसकिएको विश्लेषण गरिएको छ ।

गठबन्धनभित्र कोमेतो पक्षबाट आएका सबै २८ सांसदहरू समानुपातिक प्रतिनिधित्व प्रणालीअन्तर्गत निर्वाचित भएका थिए । साइटोले सूची मतमा देखिएको बलियो समर्थनतर्फ संकेत गर्दै पार्टीको दृष्टिकोण र आदर्श गलत थिएनन् भन्ने पुष्टि भएको बताएका छन् ।

तर नोदाको सीडीपीजेबाट आएका प्रमुख नेताहरू भने आफ्नो सिट जोगाउन असफल भए । यसमा पूर्व विदेश मन्त्री कात्सुया ओकाडा, सीडीपीजेका संस्थापक युकियो एदानो तथा सेन्ट्रिस्ट गठबन्धन गठनमा महत्वपूर्ण भूमिका खेलेका सहमहासचिव जुन अजुमी पनि समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?