
टोकियो। जापानको राजधानी टोकियोमा रातारात भएका दुई आक्रमणमा सम्बन्ध हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। दुवै घटनामा पेपर स्प्रेजस्तै पदार्थ प्रयोग गरिएको बताइएको छ।
पहिलो घटना बिहीबार राति टोकियोको ताइतो वार्ड क्षेत्रमा भएको हो। प्रहरीले जनाएअनुसार तीन जना आक्रमणकारीले पाँच जनामाथि हमला गरी करिब ४२० मिलियन येन, अर्थात् झन्डै २.७ मिलियन अमेरिकी डलर नगद रहेको सुटकेस लुटेर फरार भएका छन्।
२० देखि ४० वर्ष उमेर समूहका तीन जापानी र दुई चिनियाँ नागरिक पैसा गाडीमा हाल्दै गर्दा उनीहरूमाथि आक्रमण भएको थियो।
एक चिनियाँ नागरिकलाई पेपर स्प्रे प्रहार गरिएको प्रहरीले जनाएको छ।
घटनापछि करिब सोही क्षेत्रमा एक पैदलयात्रीलाई गाडीले ठक्कर दिएको थियो । जसबाट उनलाई सामान्य चोट लागेको छ। नजिकै एउटा निलो सानो कार परित्याग गरिएको अवस्थामा भेटिएको छ, र प्रहरीका अनुसार आक्रमणकारीहरूले भाग्ने क्रममा सवारी साधन परिवर्तन गरेको हुन सक्छ।
यस घटनाको करिब केही घण्टापछि हानेदा विमानस्थलको पार्किङ क्षेत्रमा अर्को आक्रमण भएको छ। नगद १९० मिलियन येन बोकेका ५० वर्षका एक पुरुषमाथि पेपर स्प्रे प्रयोग गरेर हमला गरिए पनि रकम भने लुटिएको छैन।
दुवै घटनामा तीन जना संलग्न भएको र एउटै शैली प्रयोग भएको देखिएकाले प्रहरीले यी आक्रमणहरू आपसमा जोडिएको हुन सक्ने सम्भावनामा अनुसन्धान गरिरहेको जनाएको छ। अहिलेसम्म कुनै पनि संदिग्ध पक्राउ परेका छैनन्।







