
जापानमा प्रहरीले ‘डार्क पार्ट-टाइम जब’ भनेर चिनिने अवैध वा शंकास्पद कामविरुद्ध कडा कदम चालेको छ।
राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार प्रहरीले गत महिनासम्म यस्ता काम लक्षित गर्दै १३ वटा अन्डरकभर अनुसन्धान सञ्चालन गरेको जनाएको छ।
यी अनुसन्धानका क्रममा प्रहरीले नक्कली परिचयपत्र प्रयोग गरेर सामाजिक सञ्जालमार्फत आउने कामका प्रस्तावमा आवेदन दिएका थिए र अपराधी समूहसँग सम्पर्क स्थापित गरेका थिए।
प्रहरीका अनुसार यस अभियानबाट डकैतीको तयारी र ठगी प्रयास जस्ता आरोपमा कम्तीमा पाँच जनालाई पक्राउ गरिएको छ।
अन्डरकभर अपरेशनमा अधिकारीहरूले कहिलेकाहीँ झुटो ड्राइभिङ लाइसेन्स वा ‘माइ नम्बर’ कार्ड प्रयोग गरी भर्ती गर्ने व्यक्तिसँग सम्पर्क राख्ने गरेका थिए । जसले अपराध रोक्न र नयाँ सदस्य भर्ना हुन कठिन बनाउन सहयोग पुगेको बताइएको छ।
एक वरिष्ठ प्रहरी अधिकारीले ‘हामीले क्षति हुनबाट रोक्ने लगायत केही उपलब्धि हासिल गरेका छौँ’ भन्दै यो अनुसन्धान विधिलाई अझ प्रभावकारी बनाउन देशभरका प्रहरी विभागसँग अनुभव साझा गर्ने योजना रहेको बताएका छन्।
प्रहरीले भने यी घटनाको विस्तृत विवरण सार्वजनिक नगरेको बताएको छ । किनकि अपराधी समूहले प्रतिकारात्मक उपाय अपनाउन सक्ने चिन्ता रहेको छ।
जापानमा सामाजिक सञ्जालमार्फत उच्च पारिश्रमिकको लोभ देखाएर मानिसलाई अपराधमा संलग्न गराउने यस्तो ‘यामी बाइटो’ प्रवृत्ति बढ्दै गएको भन्दै अधिकारीहरू सतर्क भएका छन्।
यहीसँगै प्रहरीले नागरिकलाई शंकास्पद रोजगारी प्रस्तावप्रति सचेत रहन आग्रह गरेको छ।







