टोकियो । गोरखा समाज जापानको तेस्रो अधिवेशन आगामी मार्च ८, २०२६ (आइतबार) जापानको टोकियो स्थित मुसाशिनो सहरमा आयोजना हुने भएको छ। जापानमा बसोबास गरिरहेका गोर्खालीहरूको सांगठनिक सुदृढीकरण, आपसी एकता अभिवृद्धि तथा भावी कार्यदिशा तय गर्ने उद्देश्यले अधिवेशन आयोजना गर्न लागिएको हो।

बिहान ११ बजेदेखि सुरु हुने अधिवेशन टोकियो स्थित मुसाशिनो प्लेस अर्थात् मुसाशी सकाइ स्टेशन नजिकैको सभा हलमा आयोजना हुने भएको छ।
गोरखा समाज जापानले स्थापना काल देखि नै जापानमा रहेका गोरखाबाट विभिन्न पेशा व्यवसायमा आवद्व रहेका गोर्खालीहरूको हकहित संरक्षण, सामाजिक एकता, सांस्कृतिक पहिचानको प्रवर्द्धन तथा आपसी सहयोगलाई प्राथमिकता दिँदै विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ। सोही अभियानको निरन्तरताका रूपमा आयोजना हुन लागेको तेस्रो अधिवेशनलाई समाजले विशेष महत्वका साथ लिएको जनाएको छ।
अधिवेशनका क्रममा विगत कार्यकालको समीक्षा, आगामी कार्ययोजना प्रस्तुतिकरण, संगठनात्मक विषयमा छलफल तथा नयाँ नेतृत्व चयन सम्बन्धी प्रक्रिया सम्पन्न गरिने अपेक्षा गरिएको छ। यसले गोरखा समाज जापानलाई थप व्यवस्थित, सशक्त र प्रभावकारी बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।
गोरखा समाज जापानले अधिवेशनलाई सफल बनाउन जापानभर छरिएर रहेका सम्पूर्ण गोरखा बासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ।








