
टोकियो । हिमालयन इन्टरनेशनल एकेडेमी जापानको ५औँ वार्षिक उत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ ।
एदोगावा वार्डको कोईवामा आयोजित उक्त समारोह विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको हो ।
नेपालदेखि जापानको कर्मभूमिमा आएर पनि नेपाली पाठ्यक्रम अनुसार अध्ययन गर्न पाउनु यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीहरूका लागि साँच्चिकै गौरवको विषय भएको अभिभावकहरुको भनाई छ ।

यसले बालबालिकालाई मातृभाषा, संस्कृति, संस्कार र पहिचानसँग जोड्दै गुणस्तरीय शिक्षाको अवसर प्रदान गरेको छ । प्रवासमा रहेर पनि नेपाली शिक्षा प्रणालीलाई निरन्तरता दिन सक्नु नेपाली समुदायको उपलब्धि मात्र नभई आत्मसम्मानको प्रतीक पनि हो ।
नेपाली पाठ्यक्रमअनुसार पठन–पाठन सञ्चालन गर्दै आएको विद्यालयले जापानमा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा, संस्कृति र पहिचान बुझाउन उल्लेख्य भूमिका खेल्दै आएको सहभागीहरूले बताएका छन् । हाल एकेडेमीमा करिब २१० नेपाली विद्यार्थी अध्ययनरत छन् ।

उत्सव समारोहमा विद्यार्थीहरूले कराते लगायत विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए । बालबालिकाको प्रस्तुति, अभिभावकको उत्साह र विद्यालयको व्यवस्थापनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
समारोहमा जापानका लागि कार्यबाहक नेपाली राजदूत हरिहर कान्त पौडेल, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ, एनआरएनए जापानका प्रवक्ता रविन शर्मा तथा एदोगावा वार्डका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कालु मेहताले विद्यालयका गतिविधि तथा भावी योजनाबारे जानकारी गराएका थिए । कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष राजन रिजालको स्वागत मन्तव्य रहेको समारोह सह–प्रधानाध्यापक रिसव भण्डारीको सञ्चालनमा सम्पन्न भएको हो ।

हिमालयन इन्टरनेशनल एकेडेमी जस्ता संस्थाले नेपाली समुदायको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन् । विद्यालय परिवार, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको निरन्तर मेहनत, समर्पण र सहकार्य प्रशंसनीय रहेको सहभागीहरूको भनाइ छ ।

अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई अझ बढी मेहनत, आत्मविश्वास र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो । विद्यालयले शिक्षा र संस्कारमा अझ उचाइ हासिल गर्दै निरन्तर प्रगति गरोस् भन्ने शुभकामना सहित कार्यक्रम समापन गरिएको थियो ।

















