
टोकियो । जापानमा बसोबास गरिरहेका नेपाली समुदायलाई लक्षित गर्दै जापान सरकारले नियम–कानुनमा हालै गरेका परिवर्तन, आप्रवासनसम्बन्धी व्यवस्था तथा सुरक्षा प्रणालीबारे स्पष्ट, आधिकारिक र व्यवहारिक जानकारी दिने उद्देश्यले ‘जापानको परिवर्तित नियम–कानुन र सुरक्षा सम्बन्धी बृहत गोष्ठी २०२६’ आयोजना हुने भएको छ ।
गोष्ठी २०२६ जनवरी ३१ गते (शनिबार) दिउँसो ठीक १ बजे टोकियोको नोगाता प्रहरी कार्यालय (नोगाता केइसात्सु चो) मा आयोजना गरिने आयोजकले जनाएका छन् ।
कार्यक्रम स्थलको ठेगाना ४–१२–१ नाकानो, नाकानो–कु, टोकियो १६४–०००१, जापान रहेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापान र बिहुँकोट समाज जापानले कार्यक्रमको संयुक्त आयोजना गरेका हुन् ।
गोष्ठीमा जापानस्थित नेपाली राजदूतावास तथा नोगाता प्रहरीको महत्वपूर्ण सहकार्य रहने जनाइएको छ । सरकारी निकाय र नेपाली समुदायका प्रतिनिधि संस्थाहरूबीच सहकार्यमा हुन लागेको यस किसिमको गोष्ठी नेपाली समुदायका लागि समयसापेक्ष र अर्थपूर्ण रहेको आयोजकको भनाइ छ ।
जापानमा पछिल्लो समय आप्रवासन नीति, भिसा प्रणाली, श्रम कानुन, आवास व्यवस्था, सवारी तथा ट्राफिक नियम र सार्वजनिक सुरक्षासम्बन्धी कानुनहरूमा क्रमिक परिवर्तन भइरहेका छन् ।
यस्ता परिवर्तनबारे पर्याप्त जानकारी नहुँदा नेपाली समुदाय विभिन्न कानुनी जटिलता, असावधानीजन्य त्रुटि तथा अनावश्यक समस्यामा पर्ने अवस्था बढ्दै गएको आयोजकले उल्लेख गरेका छन् ।
यही यथार्थलाई मध्यनजर गर्दै गोष्ठीमार्फत कानुनसम्बन्धी सही जानकारी, सचेतना र सुरक्षाबोध अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।
गोष्ठीमा सम्बन्धित निकायका विज्ञ तथा प्रतिनिधिहरूद्वारा जापानका परिवर्तित नियम–कानुन, सुरक्षा व्यवस्थाका प्रमुख पक्ष, आप्रवासन तथा दैनिकीसँग सम्बन्धित कानुनी दायित्व र अधिकारबारे विस्तृत जानकारी प्रदान गरिनेछ ।
सहभागीहरूका जिज्ञासा र प्रश्नहरूको समाधानका लागि अन्तरक्रिया तथा प्रश्नोत्तर कार्यक्रमसमेत समावेश गरिने आयोजकले बताएका छन् ।
जापानमा कार्यरत श्रमिक, विद्यार्थी, व्यवसायी, परिवारसहित बसोबास गरिरहेका नेपाली तथा नयाँ आगन्तुक सबैका लागि कार्यक्रम उपयोगी हुने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन् ।
नेपाली समुदायलाई कानुनी रूपमा सुरक्षित, सचेत र मर्यादित बनाउने दिशामा गोष्ठीले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
आयोजकले जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त जानकारीमूलक तथा जनहितकारी गोष्ठीमा अनिवार्य रूपमा सहभागी भई लाभ लिन हार्दिक अनुरोध गरेका छन् ।







