जापानमा भिसा शुल्क, नवीकरण र स्थायी बसोबास आवेदन शुल्क बढ्ने

टोकियो । जापान सरकारले आगामी आर्थिक वर्ष २०२६ देखि विदेशी नागरिकहरूका लागि भिसा जारी गर्ने, भिसा नवीकरण गर्ने तथा स्थायी बसोबासको आवेदन शुल्कमा ठूलो वृद्धि गर्ने गरी तयारी अघि बढाएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन तथा कानुनी परामर्श संस्थाहरूले सार्वजनिक गरेका विवरणअनुसार हाल लागू हुँदै आएको शुल्कको तुलनामा नयाँ शुल्क ५ सय प्रतिशतदेखि ९ सय प्रतिशतसम्म बढ्न सक्ने बताइएको छ ।

अहिले भिसा नवीकरण वा बसोबासको स्थिति परिवर्तनका लागि करिब ६ हजार येन शुल्क लाग्ने गरेकोमा नयाँ प्रस्ताव लागू भएमा यो रकम ३० हजारदेखि ४० हजार येनसम्म पुग्न सक्ने देखिएको छ ।

त्यसैगरी हाल करिब १० हजार येन रहेको स्थायी बसोबास आवेदन शुल्क भविष्यमा १ लाख येन वा सोभन्दा बढी तोक्ने विषयमा पनि छलफल भइरहेको जनाइएको छ ।

यस शुल्क वृद्धिको कारण जापानमा विदेशी बासिन्दाको संख्या बढ्दै जानु, आप्रवासन प्रशासनको खर्च बढ्नु तथा भाषा र सामाजिक समायोजन कार्यक्रम सञ्चालनका लागि थप बजेट आवश्यक पर्नु रहेको बताइएको छ ।

यदि यो प्रस्ताव कार्यान्वयनमा आयो भने जापानमा काम गर्ने विदेशी कामदार, विद्यार्थी तथा परिवारसहित बसोबास गरिरहेका प्रवासीहरूलाई आर्थिक बोझ उल्लेखनीय रूपमा बढ्ने विज्ञहरूको भनाइ छ ।

सरकारले यो विषयलाई २०२६ को संसदीय सत्रमार्फत कानुनी रूप दिने तयारी गरिरहेको र लागू हुनुअघि विस्तृत सूचना सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?