जापान सरकारले बसोबास आवेदनका लागि नयाँ अनलाइन प्रणाली सुरु गर्दै

टोकियो । जापान सरकारले विदेशी नागरिकका लागि प्रयोग हुँदै आएको बसोबास (जाइर्यु) आवेदन अनलाइन प्रणाली लाई नयाँ रूपमा लागू गर्ने भएको छ। २०२६ जनवरी ५ गतेदेखि नयाँ प्रणाली कार्यान्वयनमा आउने जानकारी आप्रवासन तथा बसोबास व्यवस्थापन निकाय (इमिग्रेसन सर्भिसेज एजेन्सी) ले दिएको छ।

नयाँ प्रणाली लागू भएसँगै हाल प्रयोगमा रहेको अनलाइन प्रणालीको वेबसाइट ठेगाना परिवर्तन हुने भएकाले सेवाग्राहीलाई आधिकारिक वेबसाइट मार्फत मात्र आवेदन गर्न अनुरोध गरिएको छ।

निकायका अनुसार नयाँ प्रणालीमा कागजात संलग्न गर्ने क्षमता वृद्धि, एकैपटक धेरै फाइल अपलोड गर्न सकिने, आवेदन बीचमै सुरक्षित राखेर पछि निरन्तरता दिन सकिने, तथा आवेदन पेश गरेपछि पनि विवरण र संलग्न कागजात अनलाइनमै हेर्न सकिने व्यवस्था गरिएको छ। यसका साथै अब प्रयोग सूचना र नियमित प्रतिवेदन पनि अनलाइनमार्फत बुझाउन सकिने भएको छ।

अनलाइन प्रणाली मार्फत आवेदन गर्दा घर वा कार्य स्थलबाटै प्रक्रिया पूरा गर्न सकिने, सेवा पूर्ण रूपमा निःशुल्क हुने, २४ घण्टा, वर्षभरि सेवा उपलब्ध हुने, तथा बसोबास कार्ड हुलाकमार्फत प्राप्त गर्न सकिने सुविधा रहने इमिग्रेसनले जनाएको छ।

जापानमा बसोबास गर्ने नेपाली समुदायका लागि नयाँ प्रणाली समय र खर्च दुवै बचत गर्ने माध्यम हुने अपेक्षा गरिएको छ। सम्बन्धित निकायले सेवाग्राहीलाई दलाल वा अप्रमाणित सूचनाबाट सचेत रहन र आधिकारिक सरकारी वेबसाइटबाट मात्र जानकारी लिन आग्रह गरेको छ।

नयाँ बसोबास आवेदन अनलाइन प्रणालीसम्बन्धी विस्तृत जानकारी जापान सरकारको आधिकारिक वेबसाइट मा उपलब्ध रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?