टोकियो । जापानमा क्रियाशील कास्की पोखरा समाज जापानले प्रवासी नेपालीहरूको भूमिका र समसामयिक राष्ट्रिय मुद्दामाथि केन्द्रित गर्दै ‘प्रवासी भूमिमा: राष्ट्रिय बहस’ कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम आगामी जनवरी २५, २०२५ मा दिउँसो २ बजे टोकियोको शिन्जुकु क्षेत्रस्थित सभा हलमा हुने आयोजकले जनाएको छ।

कार्यक्रमका मुख्य वक्ता सौरभ रहने छन्। नेपाली सार्वजनिक बहसमा परिचित नाम सौरभ समाज, राजनीति र राष्ट्रिय सरोकारका विषयमा लामो समय देखि धारणा राख्दै आएका विश्लेषक हुन्।
सञ्चार माध्यम र सार्वजनिक मञ्च मार्फत उनले प्रवासी नेपाली, लोकतान्त्रिक अभ्यास, सामाजिक उत्तरदायित्व र समसामयिक मुद्दा माथि विचार प्रस्तुत गर्दै आएका छन्। तथ्य र अनुभवमा आधारित विश्लेषणका कारण उनी प्रवासी तथा युवा पुस्ता माझ रुचाइएका वक्ताका रूपमा चिनिन्छन्।
आयोजकका अनुसार कार्यक्रममा प्रवासी नेपालीहरूले देश विकास, सामाजिक रूपान्तरण र राष्ट्रिय हितमा खेलेको भूमिका माथि बहस गरिने जनाएको छ। सौरभले आफ्ना अनुभव र अवलोकनका आधारमा प्रवासीमा रहेका नेपाली र राष्ट्र बीचको सम्बन्ध, जिम्मेवारी र सम्भावना बारे धारणा राख्ने कार्यक्रम रहेको छ।
कास्की पोखरा समाज जापानले आयोजना गर्न लागेको यस्ता खाले कार्यक्रमले जापानमा रहेका नेपालीहरू बीच विचार आदानप्रदान, चेतना अभिवृद्धि र आपसी एकता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा जापानका विभिन्न क्षेत्रबाट नेपालीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।









