नगद पुरस्कारसहित एनआरएनए चिबाको निबन्ध लेखन प्रतियोगिता आयोजना

टोकियो। गैरआवासीय नेपाली संघ (NRNA) चिबा क्षेत्रीय समन्वय परिषद्ले ‘NRNA चिबा निबन्ध लेखन प्रतियोगिता–२०२६ (शृङ्खला–२)’ आयोजना गर्ने भएको छ। जापानमा बसोबास गर्ने नेपाली तथा नेपाली भाषीहरूमा साहित्यिक सिर्जनशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिताका लागि निबन्ध आह्वान गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन चाहनेले नेपाली भाषामै मौलिक निबन्ध तयार गरी तोकिएको समयसीमाभित्र इमेल वा परिषद्को आधिकारिक वेबसाइट www.nrnachiba.com मार्फत निबन्ध पेस गर्नुपर्नेछ। प्राप्त सबै निबन्धलाई प्रारम्भिक चरणमा आन्तरिक छनोटपछि निर्णायक मण्डलमार्फत मूल्याङ्कन गरिनेछ।

मूल्याङ्कनपछि उत्कृष्ट ठहरिएका निबन्धहरूबाट प्रथम, द्वितीय र तृतीय स्थान निर्धारण गरिनेछ। प्रतियोगितामा प्रथम हुने निबन्धकारलाई ७० हजार येन, द्वितीयलाई ५० हजार येन र तृतीयलाई ३० हजार येन नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। यसैगरी उत्कृष्ट १० निबन्धमध्येबाट थप सात जनालाई सान्त्वना पुरस्कारस्वरूप ५ हजार येन र प्रमाणपत्र प्रदान गरिनेछ।

उत्कृष्ट निबन्धहरूलाई समेटेर सङ्ग्रहित पुस्तक प्रकाशन गर्ने तयारीसमेत गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको अन्तिम नतिजा एक विशेष समारोह आयोजना गरी सार्वजनिक गरिनेछ।

NRNA चिबा क्षेत्रीय समन्वय परिषद्ले जापानमा रहेका नेपाली समुदायबीच साहित्यिक चेतना अभिवृद्धि गर्न र नेपाली भाषाको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास लिएको छ। प्रतियोगितासम्बन्धी विस्तृत जानकारी परिषद्को आधिकारिक माध्यमबाट प्राप्त गर्न सकिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?