
टोकियो । जापानमा नेपालीहरूको सामूहिक पहलमा स्थापना भएको पहिलो इन्टरनेशनल स्कूल एभरेस्ट इन्टरनेशनल स्कुलद्वारा आयोजित ‘वार्षिक विद्यालय प्रदर्शनी २०२५’ मंगलबार टोकियोको सुगिनामी–कुस्थित ओगिकुबोमा भव्य रूपमा सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा बिहान ११ बजेदेखि सुरु भएको प्रदर्शनीमा विद्यार्थीहरूले शैक्षिक, सिर्जनात्मक तथा प्रयोगात्मक सामग्रीहरू प्रस्तुत गर्दै आफ्नो सिकाइ उपलब्धी, सिर्जनशीलता र व्यवहारिक ज्ञान प्रदर्शन गरेका थिए ।
विद्यालयका अनुसार कक्षा कोठाभित्र सीमित शिक्षालाई व्यवहारिक अभ्याससँग जोड्ने उद्देश्यका साथ उक्त प्रदर्शनी आयोजना गरिएको हो ।
प्रदर्शनीको औपचारिक उद्घाटन विद्यालयका कार्यकारी अध्यक्ष किरण थापा, संस्थापक अध्यक्ष डा.भूपालमान श्रेष्ठ, विद्यालयका संस्थापक तथा नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, विद्यालयका संस्थापक तथा एभरेस्ट इन्टरनेशनल स्कलका प्रबन्ध निर्देशक दिपक सुवेदी, संस्थापक तथा सह–अध्यक्ष ओम गुरुङ, उपप्रधानाध्यापक राजेन्द्र तामाङ तथा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ लगायतको विशेष उपस्थितिमा रिबन काटेर गरिएको थियो ।
उद्घाटन समारोहमा वक्ताहरूले जापानमा बसोबास गर्ने नेपाली बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने एभरेस्ट इन्टरनेशनल स्कूलको अभियान दूरदर्शी, समय सापेक्ष र प्रेरणादायी रहेको धारणा व्यक्त गरेका थिए ।
प्रदर्शनीमा विज्ञान प्रदर्शनी अन्तर्गत विभिन्न प्रयोगात्मक मोडेलहरू प्रस्तुत गरिनुका साथै नेपाली वाद्यवादन सामग्री, नेपालको संविधान, पञ्चेबाजा सेट, नेपालका ऐतिहासिक मठ–मन्दिर, दरबार स्क्वायरहरू, तथा विभिन्न कालखण्डमा राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूका तस्बिरहरू प्रदर्शनीमा राखिएको थियो । साथै गणित, कम्प्युटर, अंग्रेजी, नेपाली भाषा विषय सम्बन्धी विद्यार्थीहरूको प्रस्तुतीकरणले प्रदर्शनीलाई थप आकर्षक बनाएका थिए ।

यसले नेपाली कला, संस्कृति, इतिहास र पहिचानलाई अन्तर्राष्ट्रिय परिवेशमा प्रभावकारी रूपमा उजागर गरेको सहभागीहरूले प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले विद्यार्थीहरूको प्रस्तुतीकरणको खुलेर प्रशंसा गर्दै यस्ता गतिविधिले विद्यार्थीको आत्मविश्वास, प्रस्तुतीकरण क्षमता तथा व्यवहारिक सिकाइलाई अझ मजबुत बनाउने बताएका छन् ।
सोही अवसरमा विद्यालयले दोस्रो त्रैमासिक परीक्षाको नतिजा पनि वितरण गरिएको थियो । विद्यालय प्रशासनले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक तथा विद्यार्थी प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

नेपाल सरकारबाट स्वीकृति प्राप्त नेपाली स्कूल तथा क्याम्ब्रिज इन्टरनेशनल एजुकेसन अन्तर्गत सञ्चालन हुँदै आएको एभरेस्ट इन्टरनेशनल स्कूल जापानको शिक्षा मन्त्रालयबाट स्वीकृत भएको विद्यालय हो ।
जापानमा नेपालीहरूद्वारा स्थापना गरिएको पहिलो इन्टरनेशनल स्कूलको रूपमा एभरेस्ट इन्टरनेशनल स्कूलले नेपाली समुदायको शैक्षिक पहिचान निर्माण गर्दै अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
एभरेस्ट स्कुलमा करिव साढे ५ सय नेपाली, जापानी र अन्य मुलुकका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।









