सरकारी निवासमा सरिन् प्रधानमन्त्री ताकाइची

टोकियो । जापानको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी सानाए ताकाइची सरकारी निवासमा सरेकी छन् ।

उनी प्रधानमन्त्री भएको झण्डै दुई महिनापछि प्रधानमन्त्रीको सरकारी आवासमा सरेकी हुन् । यसअघि उनी टोकियोको आकासाका क्षेत्रमा रहेको संसद आवासमै बस्दै आएकी थिइन् ।

प्रधानमन्त्री भएसँगै व्यस्त कूटनीतिक र संसदीय कार्यतालिकाका कारण उनी सरकारी आवासमा सर्न पाएकी थिइनन् ।

गत ८ डिसेम्बरमा जापानमा शक्तिशाली भूकम्प गएको बेला कार्यालय पुग्न झण्डै ३५ मिनेट ढिलो भएपछि विपक्षी दलहरूले प्रधानमन्त्रीको चर्को आलोचना गरेका थिए ।

विपक्षी दलले आपतकालीन समयमा प्रधानमन्त्री आफ्नो कार्यालय नजिकै हुनुपर्ने भन्दै उनी सरकारी आवासमा नसरेकोमा प्रश्न उठाएका थिए ।

जापानमा प्रधानमन्त्रीको यो सरकारी निवास सन् १९२० को दशकमा निर्माण भएको हो । जुन प्रधानमन्त्री कार्यालयबाट करिब १ मिनेटको पैदल दुरीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?