
टोकियो । जापानमा हिउँ परिरहेका बेला भएको भीषण सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
गुन्मा प्रिफेक्चरमा हिउँ परिरहेका बेला कम भिजिबिलिटीका कारण दुई वटा ट्रक एकआपसमा ठोक्किएका थिए ।
ठक्करपछि एक्सप्रेसवेको एउटा क्षेत्र ब्लक भएको थियो । जसका कारण पछि आइरहेका गाडीहरुले सडकमा हिउँ रहेका कारण समयमै ब्रेक लगाउन सकेनन् र ६७ वटा गाडी एकआपसमा ठक्कर खान पुगे । ठक्करपछि केही गाडीमा आगो लागेको थियो ।
दुर्घटना गुन्मा प्रान्तको मिनाकामी कस्बेमा कान–एत्सु एक्सप्रेसवेमा भएको हो । यसमा ७७ वर्षीया महिलासहित २ जनाको मृत्यु भएको छ भने २६ जना घाइत हुन पुगेका छन् ।
दुर्घटनाका समयमा देशमा नयाँ वर्षको छुट्टी मनाएर फर्किनेहरुको लहरका कारण भारी जाम थियो । प्रहरीले दुर्घटनामा पर्नेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।
प्रहरी अनुसन्धान, दुर्घटनाग्रस्ट गाडी पन्छाउने र सडकको सफाईका कारण सडक अझै बन्द छ ।







