
टोकियो । जापान सरकारले आर्थिक वर्ष २०२६ का लागि अहिलेसम्मकै ठूलो राष्ट्रिय बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको मन्त्रिपरिषद् बैठकले करिब १२२.३ ट्रिलियन येन बराबरको बजेट स्वीकृत गरेको हो ।
यो बजेटको मुख्य उद्देश्य सामाजिक सुरक्षा प्रणाली सुदृढ गर्नु, अर्थतन्त्रलाई प्रोत्साहन दिनु र राष्ट्रिय सुरक्षालाई बलियो बनाउनु रहेको सरकारको भनाइ छ ।
वृद्ध जनसंख्या तीव्र रूपमा बढ्दै गएको जापानमा पेन्सन, स्वास्थ्य सेवा तथा सामाजिक कल्याण खर्च निरन्तर बढ्दै गएको पृष्ठभूमिमा यो बजेट ल्याइएको हो ।
यसैगरी, २०२६ को बजेटमा रक्षा खर्च पनि इतिहासकै उच्च स्तरमा पुर्याइएको छ । सरकारले ९ ट्रिलियन येनभन्दा बढी रक्षा बजेट स्वीकृत गरेको छ । जुन अघिल्ला वर्षहरूको तुलनामा ठूलो वृद्धि हो ।
सरकारका अनुसार पूर्वी एसियामा सुरक्षा वातावरण जटिल बन्दै गएको, विशेषगरी चीनसँग बढ्दो सैन्य र रणनीतिक तनाव, उत्तर कोरियाको मिसाइल गतिविधि तथा क्षेत्रीय अस्थिरताका कारण रक्षा क्षमतामा लगानी बढाउनुपर्ने अवस्था आएको हो ।
तर यति ठूलो बजेटका कारण जापानको सरकारी ऋण झनै बढ्ने भन्दै विपक्षी दल र केही अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् । यद्यपि सरकारले भने आर्थिक वृद्धिदर कायम राख्दै ऋण व्यवस्थापन पनि सन्तुलित रूपमा अघि बढाउने दाबी गरेको छ ।
विश्लेषकहरूका अनुसार यो बजेटले जापानको आगामी राजनीतिक दिशा, सुरक्षा नीति र आर्थिक प्राथमिकतालाई स्पष्ट संकेत दिएको छ ।







