जापानमा थप क्षेत्रमा कामदार ल्याउने तयारी, कुन क्षेत्रमा थपिदैछ ?

टोकियो । जापान सरकारले विदेशी श्रमिक नीति थप विस्तार गर्दै स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) कार्यक्रमलाई नयाँ–नयाँ क्षेत्रमा विस्तार गर्ने तयारी गरिरहेको छ ।

हाल केयरगिभिङ, निर्माण, कृषि, होटल तथा फुड प्रोसेसिङ क्षेत्रमा सीमित रहेको यो कार्यक्रमलाई अब लजिस्टिक्स, सफाइ सेवा र आईटी सपोर्टजस्ता क्षेत्रमा पनि लागू गर्ने विषयमा गम्भीर छलफल सुरु भएको छ ।

जापानमा श्रमशक्ति अभाव गहिरिँदै जाँदा सरकारको दक्ष विदेशी कामदारका लागि दीर्घकालीन रोजगारीको ढोका खोल्ने संकेत मानिएको छ ।

विशेष गरी डेलिभरी, गोदाम व्यवस्थापन, भवन मर्मत–सफाइ र सूचना प्रविधि सहयोगजस्ता क्षेत्रमा विदेशी श्रमिकको माग तीव्र रूपमा बढ्दै गएको छ ।

यससँगै सरकारले एसएसडब्लु टाइप–१ बाट टाइप–२ तर्फ जाने मार्गलाई अझ स्पष्ट र व्यवस्थित बनाउने संकेत पनि दिएको छ ।
एसएसडब्लु टाइप–२ भिसा प्राप्त गरेपछि विदेशी कामदारले लामो समय जापानमा काम गर्न, परिवारसँग बस्न र अन्ततः स्थायी बसोबासतर्फ अघि बढ्ने अवसर पाउनेछन् ।

जसबाट जापानलाई विदेशी कामदार केबल अस्थायी श्रमका लागि मात्रै नभएर देशको भविष्य निर्माणमा दीर्घकालीन साझेदारको रूपमा समेत आवश्यक रहेको बुझ्न सकिन्छ ।

यो नीति परिवर्तन नेपालीसहित एसियाली देशका हजारौँ कामदारका लागि अवसर र जिम्मेवारी दुवै भएको विश्लेषकहरुको भनाई छ । भाषा, सीप, कर, सामाजिक बीमा र कानुनी पालना अब झन् महत्वपूर्ण हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?