
टोकियो । जापान सरकारले भविष्यमा देखिनसक्ने श्रमिकको अभाव समाधान गर्न करिब १२ लाख ३० हजार विदेशी कामदार भित्र्याउने लक्ष्यसहित नयाँ योजना सार्वजनिक गरेको छ ।
जापान टाइम्सले प्रकाशित गरेको समाचारअनुसार जापानमा तीव्र रुपमा वृद्ध मानिसहरुको जनसंख्या बढिरहेको छ भने युवा श्रमिकको संख्या लगातार घट्दो क्रममा छ ।
सोही कारण उद्योग, निर्माण क्षेत्र, कृषि, केयरगिभिङ, होटल–रेस्टुरेन्ट र उत्पादन क्षेत्रमा जनशक्ति अभाव चुलिँदै गएको छ ।
सरकारले यो लक्ष्य विशेष गरी ‘स्पेसिफिक स्किल्ड वर्कर (एसएसडब्लु) लगायतका श्रम आप्रवासन कार्यक्रममार्फत पूरा गर्ने योजना बनाएको छ ।
यस अन्तर्गत जापानी भाषा र सीप भएका विदेशीहरूलाई लामो समयसम्म काम गर्ने अवसर दिइनेछ । केही क्षेत्रमा परिवार ल्याउने सम्भावनासमेत विस्तार गर्ने संकेत गरिएको छ ।
तर, यसैसँगै सरकारले नियम पालनामा कडाइ, कर, सामाजिक सुरक्षा, स्वास्थ्य बीमा र बसोबास नियमको कडाइ पनि गर्ने जनाएको छ ।
यसले स्पष्ट सन्देश दिन्छ, ‘जापानलाई विदेशी श्रमिक आवश्यक छ । तर नियम पालना गर्ने, जिम्मेवार र दीर्घकालीन योगदान दिन सक्ने कामदार मात्रै ल्याउने योजनामा जापान छ ।
यो योजना जापानमा रहेका नेपाली, बंगलादेशी, श्रीलंकाली, भियतनामीलगायत प्रवासी कामदारहरूका लागि अवसर र चुनौती दुवै हो ।
यसबाट अवसरहरुको वृद्धि, रोजगारी सिर्जना, दीर्घकालीन बसोबास र करियरको विकासमा सहयोग पुग्नेछ । तर भाषा, सीप, कानुनी जिम्मेवारी र सामाजिक एकीकरणजस्ता विषयमा चुनौती थपिनेछ ।
विशेषज्ञहरूका अनुसार अब जापानको भविष्य विदेशी श्रमिक बिना सम्भव छैन । तर, सफल आप्रवासन नीति तब मात्र सम्भव हुन्छ, जब मानव मर्यादा, श्रमिक अधिकार र सामाजिक समावेशितालाई समान प्राथमिकता दिइन्छ ।







