
टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले पुनः पञ्जीकृत सदस्यता आवेदन खुला गरेको छ ।
एनआरएनएको १२औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी सन् २०२६ फेब्रुअरी २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
त्यसअघि तोकिएको समयमा सदस्यता नवीकरण तथा नयाँ सदस्यता आवेदन दिन नसकेका जापानबासी नेपालीहरूका लागि एनआरएनए जापानले पुनः पञ्जीकृत सदस्यता आवेदन खुला गरेको हो ।
एनआरएनएको विधान २००३ (२०२२ संशोधनसहित) एनआरएनए जापानको विधान २००४ (संशोधन २०२३) तथा सम्बन्धित नियमावली २०२१ बमोजिम, २०२३–२०२५ कार्यकालका पञ्जीकृत सदस्यहरूले २०२५–२०२७ कार्यकालका लागि सदस्यता नवीकरण गर्न तथा इच्छुक नयाँ सदस्यहरूले पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको हो ।

यसअघि २०२५ मे १ देखि जुन १० सम्मको अवधिमा आवेदन दिन छुटेका सम्पूर्ण जापानबासी नेपालीहरूका लागि २०२५ डिसेम्बर २४ गते बिहान १२ बजेदेखि २०२६ जनवरी ९ गते ११ः५९ बजेसम्म पुनः आवेदन खुला गरिएको एनआरएनए जापानले जनाएको छ ।
सदस्यता आवेदन आईसीसीमार्फत सञ्चालन हुने एमआईएस (MIS) प्रणाली अन्तर्गत स्मार्ट एनआरएनए एप प्रयोग गरी गर्नु पर्नेछ । नयाँ सदस्यता तथा नवीकरणका लागि members.nrna.org/signup मा गई अनलाइन दर्ता गर्न सकिनेछ ।
पञ्जीकृत सदस्यताका लागि जाइरियो कार्डको फोटो, प्रतिव्यक्ति एक हजार येन शुल्क भुक्तानी प्रमाण (बैंक वा Stripe) अनिवार्य गरिएको छ ।
एक व्यक्तिको खाता वा कार्डबाट अधिकतम दुई जनासम्म शुल्क भुक्तानी गर्न पाइनेछ ।
नेपाली मूलका जापानी नागरिकहरूले पासपोर्टको फोटो भएको पृष्ठ अपलोड गर्नु पर्नेछ ।
एनआरएनए जापानले योग्यता पुगेका सम्पूर्ण जापानबासी नेपालीहरूलाई पञ्जीकृत सदस्यतामा आवद्ध हुन अनुरोध गर्दै यस सूचनाको व्यापक प्रचार प्रसारका लागि सबैमा सहयोगको अपिल गरेको छ ।







