टोकियोमा लोकप्रिय गायक सज्जनराज वैद्यको कन्सर्ट हुने

टोकियो । नेपाली सांगीतिक क्षेत्रमा युवा पुस्ताको मन जित्न सफल लोकप्रिय गायक सज्जनराज वैद्यको लाइभ कन्सर्ट जापानको टोकियोमा हुने भएको छ ।

आगामी १० मार्च, २०२६ मा टोकियोको प्रतिष्ठित योयोगी नेशनल स्टेडियममा सज्जनराज वैद्य ब्याण्डको भव्य लाइभ कन्सर्ट आयोजना हुने भएको हो ।

उनको जापानको टोकियोमा पहिलो पटक कन्सर्ट हुन लागेको हो ।

हाराजुकु स्टेशनबाट करिब ३ मिनेटको पैदल दूरीमा रहेको करिब ५ हजार दर्शक क्षमता भएको उक्त स्टेडियममा आयोजना हुन लागेको यो कार्यक्रम जापानमा नेपाली संगीत इतिहासकै एक महत्वपूर्ण कोशेढुंगा हुने अपेक्षा गरिएको छ ।

करिब एक वर्ष लामो निरन्तर प्रयास र समन्वयपछि कन्सर्टका लागि स्टेडियम सुरक्षित गर्न सफल भएको आयोजकले जनाएको छ ।

कार्यक्रम जिएमटी इन्टरनेशनलको मुख्य आयोजनामा सम्पन्न हुने छ । जसका लागि नेपालबाट दर्जन भन्दा बढी कलाकार तथा प्राविधिक टोली जापान आउने तयारीमा छन् ।

टोकियोसँगै नागोया, ओसाका र फुकुओका जस्ता प्रमुख शहरहरूमा समेत सज्जनराज वैद्य ब्याण्डको लाइभ कन्सर्ट आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

यसअघि सज्जनराज वैद्य ब्याण्डले बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका मुलुकहरूमा दर्जनौं पटक सफल प्रस्तुति दिइसकेको छ ।

त्यस्तै दुबई, दोहा तथा भारतका मुम्बई र दिल्लीजस्ता शहरहरूमा हजारौं दर्शकको उल्लेखनीय सहभागितासहित कन्सर्ट सम्पन्न गरिसकेको भए पनि जापानमा भने यो पहिलो कन्सर्ट हुन लागेको हो ।

मार्च १० मा हुने यस बहुप्रतिक्षित लाइभ कन्सर्टको टिकट अंग्रेजी नयाँ वर्ष २०२६ सुरु भएसँगै अनलाइनमार्फत बिक्रीमा ल्याइने आयोजक स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?