
जापानका अर्थमन्त्री सात्सुकी कातायामाले येन लगातार कमजोर बन्दै गएको अवस्थामा विदेशी मुद्रा बजारमा प्रत्यक्ष हस्तक्षेप गर्न सकिने कडा चेतावनी दिएका छन् ।
पछिल्लो समय अमेरिकी डलरको तुलनामा जापानी येन तीव्र रूपमा कमजोर भएपछि सरकारले यसलाई गम्भीर रूपमा लिएको हो ।
जापानी अर्थमन्त्रीले पत्रकारहरूसँग कुरा गर्दै भनेका छन्, ‘येनको चाल यदि आर्थिक आधारभूत अवस्थासँग मेल नखाने गरी अत्यधिक उतार–चढाव देखियो भने सरकार हस्तक्षेप गर्न हिच्किचाउने छैन ।’
उनले मुद्रा बजारमा हुने अत्यधिक सट्टेबाजीले जापानको अर्थतन्त्र, आयात मूल्य र जनजीवनमा नकारात्मक असर पार्ने चेतावनी पनि दिएका छन् ।
हाल कमजोर येनका कारण इन्धन, खाद्य सामग्री तथा आयातित वस्तुहरू महंगिदै गएका छन् । जसको प्रत्यक्ष असर उपभोक्तामाथि परिरहेको छ । सरकार र केन्द्रीय बैंकबीच समन्वय गरेर आवश्यक कदम चालिने अर्थमन्त्रीले स्पष्ट पारेका छन् ।
यस वक्तव्यपछि अन्तर्राष्ट्रिय मुद्रा बजारमा जापान सरकारको सम्भावित हस्तक्षेपबारे चर्चा बढेको छ भने लगानीकर्ताहरू सतर्क बनेका छन् ।
विश्लेषकहरूका अनुसार जापानले बजारमा प्रत्यक्ष डलर बिक्री गरेर येन मजबुत बनाउने रणनीति अपनाउन सक्ने संकेत देखिएको छ ।
सरकारले बजारको चाललाई नजिकबाट नियालिरहेको बताउँदै आवश्यक परे तुरुन्त निर्णय लिने जनाएको छ । कमजोर येनको प्रभाव नियन्त्रण गर्नु अहिले जापान सरकारको प्रमुख आर्थिक चुनौतीका रूपमा देखिएको छ ।







