टोकियो । जापानको क्योटो प्रिफेक्चरमा आज बिहान रेल र कार ठोक्किँदा कारमा आगो लागेको छ ।
दुर्घटनापछि सो रुटको रेल सेवा केही समयका लागि अवरुद्ध भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार क्योटो प्रान्तको सेइका टाउनस्थित किन्तेचु क्योटो लाइनको रेलवे क्रसिङमा स्थानीय समयअनुसार बिहान करिब ११ बजे क्योटो लाइनको विशेष एक्सप्रेस रेलले एक कारलाई ठक्कर दिएको हो ।
ठक्करपछि कारमा आगो लागेर ठूलो धुवाँ उठेको थियो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी र दमकल टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको छ । प्रारम्भिक विवरणअनुसार रेलमा सवार यात्रुहरू सुरक्षित छन् ।
कारमा सवार व्यक्तिको अवस्था र दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
आगोका कारण रेलको चालक बस्ने अघिल्लो भागमा भने क्षति पुगेको बताइएको छ ।
दुर्घटनाका कारण सो लाइनको रेलसेवा अवरुद्ध हुँदा यात्रुहरूलाई असहज भएको थियो । रेलवे कम्पनीले सेवा पुनः सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ ।
रेलवे क्रसिङमा भएको यो दुर्घटनाले जापानमा सडक–रेल सुरक्षाबारे पुनः प्रश्न उठाएको छ ।








