‘चिनियाँ रेडार लक अन’– जापानमाथि आक्रमणको पूर्वसंकेत

टोकियो । जापानको ओकिनावा नजिक चीनले जापानी सेनाको विमानलाई ‘रेडार लक–ऑन’ गरेको घटना लाई लिएर जापान र अमेरिकाले कडा आपत्ति प्रकट गरेका छन् ।

सैन्य भाषामा रेडार लक–ऑन भनेको आक्रमणको पूर्वतयारीको संकेत मानिन्छ, जसले विमान प्रत्यक्ष निशानामा परिरहेको देखाउँछ ।

जापानी रक्षा मन्त्रालयका अनुसार ओकिनावा क्षेत्रको अन्तर्राष्ट्रिय हवाई सीमाभित्र नियमित गस्तीमा रहेका जापानी स्व–रक्षा सेनाका विमानहरूलाई चिनियाँ युद्धक विमानबाट आक्रमण–पूर्व संकेतसहितको फायर–कन्ट्रोल रेडार सोझै लक्षित गरिएको थियो ।
जापानले यो कदमलाई ‘उत्तेजनापूर्ण, जोखिमपूर्ण र अन्तर्राष्ट्रिय उडान सुरक्षाको गम्भीर उल्लंघन’ भएको भन्दै कडा शब्दमा विरोध गरेको छ ।

यो घटनापछि अमेरिकाले पनि जापानको समर्थन गर्दै कूटनीतिक स्तरमा स्पष्ट प्रतिक्रिया दिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागन ले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जापानको सुरक्षाप्रतिको अमेरिकी प्रतिबद्धता अटल छ । चीनको व्यवहार यस क्षेत्रको स्थायित्वका लागि गम्भीर चुनौती हो ।’

चीनले भने आफ्नो पक्षबाट यो सामान्य सैन्य अभ्यासको हिस्सा रहेको दाबी गर्दै जापानी आरोप आधारहीन भएको प्रतिक्रिया दिएको छ । तर सुरक्षा विज्ञहरूले यस्तो रेडार प्रयोगलाई खेलौना नभई वास्तविक खतरा भन्दै चिन्ताजनक व्याख्या गरेका छन् ।

यो घटनाले पहिले नै संवेदनशील रहेको पूर्वी चीन सागरको सुरक्षा वातावरण थप तनावग्रस्त बनाएको छ ।

जापानले क्षेत्रीय सहयोगीहरू विशेषगरी अमेरिका, अष्ट्रेलिया र दक्षिण कोरियासँग समन्वय बढाउँदै क्षेत्रीय निगरानी र प्रतिरक्षा क्षमतामा सुधार गर्ने तयारी अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?