जापानमा शक्तिशाली भूकम्पबाट कम्तीमा ३० जना घाइते

जापानको उत्तर–पूर्वी इलाकामा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी हालसम्म ३० जना घाइते भएको समाचार प्राप्त भएको छ । भूकम्पका कारण हजारौं मानिस घरबाहिर निस्किएका थिए ।

जापानको मौसम विज्ञान एजेन्सीले भूकम्प सोमबार राति स्थानीय समय अनुसार ११ः१५ मा गएको बताएको छ । यसको केन्दै आओमोरी क्षेत्रको तटबाट करिब ८० किलोमिटर टाढा जमिन मुनि १० किलोमिटर गहिराईमा थियो ।

भूकम्पपछि जारी गरिएको सुनामीको अलर्ट भने हटाइएको छ । यद्यपि समुद्री तटमा ७० सेमीसम्म अग्ला लहर देखिएका थिए । भूकम्प पछि केही रेल सेवा रोकिएका थिए भने हजारौं घरमा बिद्युत सेवा अवरुद्ध भएको थियो ।

स्थानीय अघिकारीहरुले जापानमा आगामी दिनमा पनि शक्तिशाली भूकम्प आउनसक्ने चेतावनी दिएका छन् । यसका कारण मानिसहरुलाई कम्तीमा एक साता सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रधानमन्त्री सानाए ताकाइचीले भूकम्पको समयमा आफ्नो तयारीबारे फेरि एकपटक जाँच गर्न र कडा झट्का आएमा तत्काल निस्किन तयार रहन आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?