जापान सरकारद्वारा १८.३ ट्रिलियन येनको पूरक बजेट संसदमा पेस

टोकियो । जापान सरकारले चालु आर्थिक वर्षका लागि १८.३ ट्रिलियन येन बराबरको पूरक बजेट संसदमा पेश गरेको छ ।

प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वमा सरकार बनेसँगै देशभित्र बढ्दो मुद्रास्फीति, महंगी र आर्थिक गतिविधिमा देखिएको सुस्तता नियन्त्रण गर्न पूरक बजेट ल्याएको हो ।

ताकाइची प्रशासन अन्तर्गत पहिलो बृहत् आर्थिक योजनालाई सहयोग पुर्‍याउने बजेटको उद्देश्य हो । यो पुरक बजेट अघिल्लो आर्थिक वर्षको १३.९ ट्रिलियन येनको भन्दा निकै ठूलो हो ।

क्याबिनेटले स्वीकृति दिएपछि संसदमा पेश गरिएको पूरक बजेट हालै बनेको सरकारी राहत प्याकेजसँग प्रत्यक्ष जोडिएको छ । जसले जापानी नागरिकलाई राहत, निजी क्षेत्रलाई प्रोत्साहन तथा समग्र ‘ग्रोथ इनभेस्टमेन्ट’ लाई तीव्रता दिने विश्वास गरिएको छ ।

खाद्य–ऊर्जा मूल्य तीव्र रूपमा बढेपछि नागरिकमा परेको बोझ कम गर्न सरकारले ऊर्जा सब्सिडी, घरायसी राहत तथा मूल्य स्थिरीकरण कार्यक्रम विस्तार गर्न लागेको छ ।

कमजोर तथा मध्यम आय भएका वर्गलाई लक्षित नगद सहायता, कर–राहत तथा स्वास्थ्य–बृद्धि क्षेत्रका कार्यक्रमलाई समेत बजेटमा समावेश गरिएको छ ।

यसलाई प्रधानमन्त्री ताकाइची सरकारको सबैभन्दा ठूलो आर्थिक कदम मानिएको छ । सरकार गठन भएयता पहिलो ठूलो बजेट पहल भएकाले यसको प्रभावकारिता र आर्थिक व्यवस्थापन क्षमतामा राजनीतिक मूल्यांकन पनि जोडिने अनुमान विश्लेषकहरूले गरेका छन् ।

सरकारले यो बजेटले आर्थिक पुनरुत्थानसँगै नागरिकको भार घटाउने र जापानी उद्योगलाई प्रतिस्पर्धी बनाउने दीर्घकालीन लक्ष्य राखेको बताएको छ । जापानको संसद्ले केही साताभित्रै बजेट अनुमोदन प्रक्रियाको अन्तिम निर्णय लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?