एभरेस्ट इन्टरनेशनल स्कुल जापानमा शर्माको खुला संवाद

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशनका क्रममा जापान आएकी महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले जापानको एभरेस्ट इन्टरनेशनल स्कुलमा खुला संवादमा भाग लिएकी छन् ।

महासंघकी अध्यक्ष शर्माको जापान भ्रमणका अवसरमा सन् २०१३ देखि सञ्चालनमा रहेको एभरेष्ट इन्टरनेशनल स्कूल जापानको ओगिकुबोस्थित कार्यालयमा एक औपचारिक स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमका क्रममा महासंघकी अध्यक्ष शर्माले विद्यार्थीहरूसँग पत्रकारिता पेशाको स्वरूप, यसको सामाजिक दायित्व, पेशागत अवसर तथा चुनौतीहरूबारे खुला संवाद गरेकी हुन् ।

विद्यार्थीहरूले प्रस्तुत गरेका जिज्ञासा तथा प्रश्नहरूको उनले विस्तृत रूपमा स्पष्टीकरण र मार्गदर्शन प्रदान गरेकी थिइन् ।

कार्यक्रममा विद्यालयका उपाध्यक्ष ओम गुरुङ, संस्थापक अध्यक्ष डा.भूपालमान श्रेष्ठ, विद्यालयका संस्थापक तथा नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, प्रिन्सिपल विष्णु प्रसाद भट्ट, सञ्चालन समितिका सदस्य कामना भण्डारीसहित विद्यालय प्रशासनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ जापान शाखाका नवनिर्वाचित अध्यक्ष रविन्द्र श्रेष्ठ ‘गोर्खाली’ लाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?