
जापान भ्रमणका क्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले टोकियोस्थित एसियन ब्रिज इन्टरनेशनल स्कुलको अवलोकन गरेकी छन् ।
विद्यालय संचालन समितिका अध्यक्ष डा.बलराम श्रेष्ठले महासंघका संस्थापक अध्यक्ष तिलक मल्ल तथा नवनिर्वाचित अध्यक्ष रविन्द्र श्रेष्ठ ‘गोर्खाली’ सहितको टोलीलाई स्वागत गर्दै विद्यालयको शैक्षिक संरचना, गतिविधि र दीर्घकालीन योजनाबारे विस्तृत जानकारी गराएका थिए ।
अवलोकनका क्रममा अध्यक्ष शर्माले जापानमा अन्तर्राष्ट्रिय विद्यालयहरूको आवश्यकता, पहुँच, अभिभावकको अपेक्षा र आर्थिक स्रोत व्यवस्थापनका विषयमा जिज्ञासा राखेकी थिइन् ।

विद्यालयसँगको अन्तरक्रियामा अन्तर्राष्ट्रिय शिक्षा प्रणालीको महत्व, नेपाल–जापान शैक्षिक मोडेलबीचको फरक, विद्यार्थीको सिकाइस्तर तथा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनको सम्भावनाबारे सार्थक छलफल भएको थियो ।
सन् २०२५ अप्रिलदेखि सञ्चालनमा आएको विद्यालयले गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै अन्य मुलुकका शैक्षिक संस्थाहरूसँग सहकार्य विस्तार गरिरहेको सहायक प्रिन्सिपल नारायण कट्टेलले बताए ।
टोकियोको प्रमुख क्षेत्र खामीनाकाजातोमा अवस्थित विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सञ्चालन गर्ने तथा निकट भविष्यमै विश्वविद्यालय तहको शैक्षिक कार्यक्रम सुरू गर्ने लक्ष्य राखेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
छोटो अवधिमै उल्लेखनीय प्रगति हासिल गरेको विद्यालयले अप्रिल २०२६ का लागि नयाँ भर्ना खुला गरेको र सिट सीमित भएकाले इच्छुक अभिभावकलाई समयमै आवेदन दिन आग्रह गरेको छ ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ जापान शाखाका नवनिर्वाचित अध्यक्ष रविन्द्र श्रेष्ठ ‘गोर्खाली’ लाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख बिगेन राजकर्णिकार, प्रमोटर तथा पत्रकार महासंघ जापान शाखाकी निवर्तमान महिला उपाध्यक्ष पत्रकार इन्दिरा खनाल, नवनिर्वाचित महिला उपाध्यक्ष लक्ष्मी पौडेललगायतको उपस्थिति रहेको थियो ।







