नेपाल पत्रकार महासंघ जापान शाखा र जापानी पत्रकारबीच अनुभव आदान प्रदान

टोकियो । नेपाल र जापानका पत्रकारबीच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ जापान शाखाको समन्वयमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ ‘गोर्खाली’ सहित शाखामा आबद्ध पत्रकार तथा जापानी पत्रकार सहभागी थिए ।

विश्वकै समृद्धमध्येको एक देश जापानको पत्रकारिताको अभ्यास र अनुभव नेपाली पत्रकारहरुले सुन्ने तथा सिक्ने र नेपाली पत्रकारिताको वर्तमान अवस्था, चुनौती र अवसरबारे अनुभव साटासाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल पत्रकार महासंघ जापान शाखाले जानकारी दिएको छ ।

कार्यक्रममा जापान भ्रमणमा रहेकी नेपाल पत्रकार महासंघकी अध्यक्ष शर्मा प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् ।
कार्यक्रममा जापानमा क्रियाशील नेपाली पत्रकार तथा जापानी सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो ।

कार्यक्रममा अध्यक्ष शर्माले नेपाली पत्रकारिताको अवस्था, विद्यमान चुनौती तथा बदलिदो विश्व परिवेशमा पत्रकारिताको भूमिकाबारे आफ्नो धारणा राख्दै अन्तर्राष्ट्रिय अनुभव र प्रविधिको प्रभावकारी प्रयोगले नेपाली पत्रकारिता अझ सक्षम र दिगो बन्ने विश्वास व्यक्त गरिन् ।

उनले नेपालमा करिब १० हजार पत्रकारहरु क्रियाशील रहेको जानकारी दिँदै देशभित्र महासंघका १ सय १३ भन्दा बढी र देशबाहिर ११ वटा शाखाहरु रहेको बताइन् ।

उनले जोखिम उठाएर सूचना सम्प्रेषण गर्ने पत्रकारहरुको भौतिक सुरक्षा, सामाजिक सुरक्षा, जीवन बिमा, पेन्सनजस्ता सेवा–सुविधाहरु सुनिश्चित गर्न अझ धेरै काम गर्नुपर्ने अवस्था रहेको बताइन् ।

उनले आसन्न निर्वाचनप्रति जनताको भरोसा जगाउन, राजनीति तथा संविधानलाई ट्रयाकमा ल्याउन र सत्यतथ्य सूचना प्राप्त गर्न पाउनुपर्ने सूचनाको हक सुनिश्चित गर्न नागरिक समाजको अगुवा संस्थाका रुपमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने र वातावरण निर्माण गर्नुपर्ने गहन दायित्व रहेको उल्लेख गरिन् ।

कार्यक्रममा जापानी पत्रकार मुरोहासी हिरोखाजुले जापानमा छापा माध्यमलाई डिजिटल मिडियाले ओझेलमा पार्दै गइरहेको बताए । यद्यपि जापानमा पुरानो र बलियो पठन संस्कृतिका कारण छापा माध्यम बढी भरपर्दो र विश्वासिलो रहेको उनको भनाई थियो ।

जापानमा रेडियो, टेलिभिजन, पत्रिका र सामाजिक सञ्जालका प्लेटफर्महरु सूचनाका प्रमुख माध्यम हुन् । आधिकारिकता र जबाफदेहिताका हिसाबले ठूला मिडियाबाट सम्प्रेषित समाचारलाई नै प्रमुख मानिन्छ ।

उनले जापानमा पनि मिडियाहरु शक्ति केन्द्रबाट नजिक र टाढा हुनेजस्ता समस्या रहे पनि मिडिया कन्टेन्टका हिसाबले भने राजनीतिक समाचार भन्दा नागरिकको रुची अनुसारका विषयवस्तु प्राथमिकतामा पर्ने उनले बताए ।

नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले जापानी पत्रकारिताको अनुशासन, कार्यशैली, तथ्य पुष्टीकरण प्रक्रिया तथा सकारात्मक व्यावसायिक दृष्टिकोण नेपालका पत्रकारका लागि प्रेरणादायी हुनसक्ने बताए ।

कार्यक्रममा सहभागी जापानी पत्रकार मिसा हिगुची, हिरोखाजु मुरोहाशी र चिका फुकाबोरीले पत्रकारितामा तीव्र रूपमा विकसित भइरहेको कृत्रिम बुद्धिमत्ता (एआई) ले सिर्जना गरेका अवसर र चुनौतीबारे समेत आफ्ना धाराणा राखेका थिए ।

उनीहरूले नेपालमा प्रेस स्वतन्त्रता, सरकारी नियमनका सम्भावित प्रभाव तथा पत्रकारहरूको पारिश्रमिक संरचनाप्रति चासो व्यक्त गर्दै विस्तृत जानकारी लिएका थिए ।

नेपाल र जापानका पत्रकारबीच भएको यो संवादले दुवै देशका पत्रकारिता अभ्यास, पेशागत अनुभव तथा प्रविधिजन्य रूपान्तरणबारे आपसी समझदारी र सहकार्यका नयाँ सम्भावना खुला गरेको नेपाल पत्रकार महासंघ जापान शाखाले जनाएको छ ।

कार्यक्रममा महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ ‘गोर्खाली’, उपाध्यक्षद्वय मनिषा चम्लागाई र लक्ष्मी पौडेल, सचिव अर्जुन लामिछाने, सदस्यहरू भवानी भट्ट, दुर्गा आचार्य र दिनेश थापा, निवर्तमान अध्यक्ष शान्त कुमार पहरी, निवर्तमान उपाध्यक्ष इन्दिरा खनाल, पत्रकार गणेश खनिया, जीवन सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?