
टोकियो । जापानमा पछिल्ला सातायता इन्धनको खुद्रा मूल्य चार वर्ष यताकै कम भएको छ ।
जापान सरकारले पेट्रोलमा लगाएको अस्थायी कर हटाउनु अघि बजारलाई स्थिर बनाउन अनुदानको मात्रा बढाएसँगै पेट्रोलको मूल्यमा गिरावट आएको हो ।
राष्ट्रव्यापी औसत मूल्य २९ महिनापछि पहिलोपटक १७० येनभन्दा तल झरेर १६९.८ येन प्रतिलिटरमा स्थिर भएको जापानी अधिकारीहरूले जनाएका छन् ।
पेट्रोलको राष्ट्रिय औसत खुद्रा मुल्य प्रतिलिटर १६४.८ येन सम्म झरेको छ । जुन गत साताको भन्दा ४ येले कम हो ।
जापान सरकारले गत २७ नोभेम्बरदेखि तेल प्रशोधनकर्तालाई दिने अनुदान प्रतिलिटर ५ येनले बढाएर २० येन पुर्याएको थियो ।
अर्थ मन्त्रालयका अनुसार सब्सिडी विस्तार तथा कर समायोजनले बजारमा मूल्य स्थिरता कायम गर्ने उद्देश्य लिएको भए पनि अन्तर्राष्ट्रिय बजारको उतार–चढावका कारण आगामी हप्ताहरूमा मूल्य कति समयसम्म स्थिर रहने भन्ने स्पष्ट छैन ।
उपभोक्ताले भने लगातार बढिरहेको मुद्रास्फीति बीच इन्धन मूल्यमा आएको यो कमीलाई राहतका रूपमा लिएका छन् ।







