जापानमा परिवर्तित स्वास्थ्य बीमा प्रणाली लागू

जापानमा आज १ डिसेम्बरदेखि परिवर्तित स्वास्थ्य बीमा प्रणाली लागू भएको छ । १ डिसेम्बर, २०२५ बाट पुरानो नेशनल हेल्थ इन्सुरेन्स कार्ड अब पूर्ण रूपमा अवैध भएको छ ।

अस्पताल–क्लिनिकमा उपचार सेवा लिनका लागि अब सबैले ‘माई नम्बर कार्ड’ प्रयोग गर्नुपर्नेछ । यस कार्डमा स्वास्थ्य–बीमासम्बन्धी सबै विवरण डिजिटल रूपमा समाहित गरिएको छ । जसमा पहिचान र बीमाका दुवै काम गर्नेछ ।

यदि कसैसँग ‘माई नम्बर कार्ड’ तयार भएको छैन भने स्थानीय नगरपालिका कार्यालयले जारी गर्ने सिगाकु काकुनिनका आधारमा स्वास्थ्य सेवा लिन सकिन्छ । यो कागजात पुरानो बीमा कार्डकै विकल्प हो । यद्यपि यो कार्ड सीमित समयका लागि मात्रै प्रयोग गर्न सकिनेछ ।

सरकारले यो कदमलाई डिजिटलीकरणतर्फको ठूलो छलाङ् मान्दै कागजी कार्ड हट्ने, प्रशासनिक झन्झट कम हुने र स्वास्थ्य बीमा दाबीमा हुने अनियमितता रोकिने अपेक्षा गरेको छ ।

तर व्यावहारिक रूपमा केही समस्या देखिएका छन् । धेरै नागरिक र विदेशीहरूले माई नम्बर कार्ड नबनेको, पिन नम्बर बिर्सिएको वा कार्ड स्क्यान मेसिनमा त्रुटि आउने गुनासो गरेका छन् ।

स्वास्थ्य संस्थाहरूले पनि सुरुआती केही दिन भीड र प्रणालीगत ढिलाइ हुन सक्ने बताएका छन् । विशेषज्ञहरूको सल्लाह अनुसार उपचार लिन जानका लागि भने माई नम्बर कार्ड पहिले नै परीक्षण गर्नुका साथै पिन नम्बर सुरक्षित राख्नुपर्नेछ । कार्ड नभएकाहरूले सिगाकु काकुनिन छिट्टै तयार गराइ राख्नु अनिवार्य छ ।

जापान पूर्ण रूपमा डिजिटल स्वास्थ्य सेवातर्फ उन्मुख हुँदै गएको यो परिवर्तनलाई ऐतिहासिक कदमका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?