
टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौँ अधिवेशनको तयारी तीव्र बनेको छ ।
आगामी ३ वर्षे कार्यकालका लागि नयाँ समिति चयन गर्न आज उम्मेदारी दर्ता हुँदैछ ।
पत्रकार महासंघ जापान शाखाको हिजो बिहीबारबाट औपचारिक रूपमा कार्यतालिका प्रकाशन भएसँगै अधिवेशनको तयारी तीव्र भएको हो ।
नयाँ कार्यसमिति चयन गर्न जापानको टोकियोमा हुने अधिवेशनबाट सर्वसम्मत कार्य समिति चयन गर्नका लागि आवश्यक पहल गर्न संस्थापक अध्यक्ष तिलक मल्ल संयोजक, निवर्तमान अध्यक्ष मोहन घले, अध्यक्ष शान्त पहरी र खगराज गौतम रहेको समितिले प्रयास गरे पनि सहमति हुन नसकेपछि निर्वाचन हुने पक्का भएको छ ।
निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि संयोजक खगराज गौतम तथा सदस्यहरु पूर्ण चलाउने र खड्क सिंह गुरुङ सदस्य रहेको निर्वाचन समितिले बिहीबारबाट काम सुरु गरेको छ ।
पत्रकार महासंघ जापान शाखाको नयाँ कार्यसमिति चयन गर्न जापानको टोकियोमा नोभेम्बर २३ तारिख आइतबार हुने अधिवेशन र निष्पक्ष निर्वाचनको तयारी तीव्र पारेको महासंघ जापान शाखाका अध्यक्ष शान्त पहरीले जानकारी दिए ।
पत्रकार महासंघ जापान शाखाको भावी अध्यक्षमा वर्तमान उपाध्यक्ष रबिन्द्र श्रेष्ठ (गोर्खाली) र सचिव राजन गौतमबीच प्रतिस्पर्धा हुने देखिएको छ ।







