जापान जाने नागरिकलाई चीनले भन्यो, ‘सुरक्षा जोखिम बढ्यो, पुनर्विचार गर्नू

बेइजिङ । चीनले जापानमा अध्ययन गर्न चाहने आफ्ना नागरिकलाई सुरक्षा जोखिम बढेको भन्दै आफ्नो निर्णयमा ‘पुनर्विचार गर्न’ औपचारिक आग्रह गरेको छ ।

चीनको शिक्षा मन्त्रालयले जारी गरेको चेतावनीमा जापानमा सार्वजनिक सुरक्षा कमजोर हुँदै गएको र चिनियाँ नागरिकविरुद्ध अपराधका घटनाहरू बढेको उल्लेख गरिएको छ ।

चीनले जारी गरेको ‘ओभरसिज स्टडी अलर्ट’ अनुसार जापानमा बढ्दो असुरक्षाका कारण विद्यार्थीहरूले आफ्नो अध्ययन योजना सावधानीपूर्वक मूल्यांकन गर्नुपर्ने जनाएको छ ।

चीनले पछिल्लो समयमा आपराधिक घटना बढेको तथा चिनियाँ नागरिकमाथिका आक्रमणहरू प्रमुख रूपमा देखिएको उल्लेख गरेको छ ।

अब जापानमा रहेका विद्यार्थीलाई व्यक्तिगत सुरक्षा सतर्कता बढाउन, जोखिम नजिकबाट नियाल्न र आवश्यक परे तत्काल स्थानीय दूतावाससँग सम्पर्क गर्न सुझाव दिइएको छ ।

चीन–जापानबीच हालै बढेको कूटनीतिक तनावसँगै चीनले यो चेतावनी जारी गरेको हो । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले हालै ताइवानलाई लिएर कडा अभिव्यक्ति दिएपछि चीनले जापान जाने विद्यार्थीहरुलाई सुरक्षा जोखिम रहेको भन्दै सतर्क हुन निर्देशन जारी गरेको हो ।

चीनले जापानको वक्तव्यलाई ‘उत्तेजनापूर्ण’ र द्विपक्षीय सम्बन्धलाई हानी पुर्‍याउने किसिमको भएको टिप्पणी गरेको छ ।

जापानले भने ताइवान स्ट्रेटमा कुनै पनि सैन्य तनाव आएमा आत्मरक्षा बल परिचालन गर्न सक्ने संकेत दिएको थियो । जसलाई चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा हेरेको छ ।

चीनले यात्रा र अध्ययन दुवै चेतावनी जारी गरेपछि जापानले असन्तुष्टि जनाएको छ । जापानले चीनलाई ‘उपयुक्त कदम चाल्न’ आग्रह गर्दै यस्तो चेतावनीले दुई देशबीच जनताबीचको सम्पर्क, पर्यटन र शैक्षिक आदानप्रदानमा नकारात्मक असर पार्न सक्ने जनाएको छ ।

जापानले चीनसँग यो कदम चाल्नुको कारणबारे कूटनीतिक संवादमार्फत निकास निकाल्ने बताएको छ । यसअघि पनि चीनले आफ्ना नागरिकलाई जापान नजान आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?