
टोकियो । जापानकी नयाँ प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारले विदेशी नागरिकहरू लक्षित नीति समीक्षा सुरु गरेको छ ।
सरकारले जापानमा बसोबास गर्ने विदेशीहरूसँग ‘सुसङ्गत सहअस्तित्व’ कायम गर्न कानुनी र सामाजिक नीति पुनःमूल्याङ्कन गर्ने घोषणा गरेको हो ।
मंगलबार टोकियोमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकमा प्रधानमन्त्री ताकाइचीले भनिन्, ‘विदेशीहरू जापानी समाजको हिस्सा हुन् । अब हामीले सहकार्य, आपसी विश्वास र स्पष्ट नियममा आधारित नीति तयार गर्नुपर्छ ।’
बैठकमा विशेष रूपमा विदेशीहरूको बसोबास अनुमति, आवास र भूमिसम्बन्धी नियम, सामाजिक समायोजन र सुरक्षा व्यवस्थाको सुधारबारे छलफल भएको थियो ।
सरकारले जनवरीसम्म विस्तृत नीति प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री ताकाइचीले भनिन्, ‘यो विदेशीविरुद्धको नीति होइन, बरु सबैका लागि न्यायपूर्ण र सुरक्षित जापान निर्माणको दिशा हो ।’
विश्लेषकहरूले भने यस निर्णयलाई नयाँ सरकारको ‘समावेशी दृष्टिकोण’ को संकेतका रूपमा व्याख्या गरेका छन् ।







