
जापानको उत्तरपूर्वी क्षेत्र अकिता प्रिफेक्चरको पहाडी जंगलमा सोमबार बिहान एक ७९ वर्षीया महिलाको शव फेला परेको छ । स्थानीयबासीले ती महिलाको भालुको आक्रमणबाट मृत्यु भएको आशंका गरेका छन् ।
जंगलमा च्याउ टिप्न गएका बेला उनालाई भालुले आक्रमण गरेको अनुमान गरिएको छ । प्रहरीले कियो गोतो नाम गरेकी महिला मृत अवस्थामा भेटिएको जनाएको छ ।
उनको अनुहारमा गम्भीर चोट पाइएको छ । प्रहरीका अनुसार गोतोले परिवारलाई फोन गरेर आफू पहाडमा च्याउ टिप्न जान लागेको जानकारी गराएकी थिइन् ।
परिवारले उनी साँझसम्म घर नफर्केपछि प्रहरीलाई खबर गरेका थिए । तर खोजीका क्रममा सोमबार बिहान करिब ९ बजे उनको शव फेला पारेको हो ।
अकिता प्रिफेक्चरमा भालु आक्रमणका घटना तीव्र गतिमा बढेसँगै गभर्नर केन्ता सुजुकीले भालु नियन्त्रणमा सहयोग गर्न केन्द्र सरकारसँग अनुरोध गरेका थिए । सोही अनुसार जापान सरकारले भालु नियन्त्रणका लागि सेनाको टोली परिचालन गरेको छ ।
यद्यपि कानुनी रूपमा भालुलाई गोली हान्न अनुमति छैन । वातावरण मन्त्रालयका अनुसार जापानमा होक्काइदोमा खैरो भालु र मुख्य द्वीप होन्शु तथा चार मुख्य द्वीपमध्ये एक शिकोकुमा कालो भालु पाइन्छन् ।
अकिता प्रिफेक्चर होन्शुमा पर्छ । यो घटनाले जापानमा भालु आक्रमणको समस्या कति गम्भीर बन्दैछ भन्ने देखाउँछ ।







