
टोकियो । जापानकी नवनियुक्त प्रधानमन्त्री सानाए ताकाइचीले आगामी ४ नोभेम्बरमा विदेशी नीति सम्बन्धी मन्त्रीस्तरीय बैठक आह्वान गरेकी छन्।
बैठकमा विदेशी नागरिकका लागि जग्गा खरिद गर्ने नियममा कडाइ गर्ने र अवैध बसोबास नियन्त्रणका विषयमा छलफल हुने जनाइएको छ।
सरकारका मुख्य सचिव सेइजी किहाराले विदेशीहरुले नियम उल्लंघन गर्ने गरेको र अवैध कार्यमा संलग्न हुने क्रम बढेको भन्दै यस्ता कार्यलाई निरुत्साहित गरिने बताएका छन् ।
‘केही विदेशीहरूले नियम उल्लङ्घन गर्दै अवैध कार्यमा संलग्न भएको पाइएको छ । यस्ता कार्यमा संलग्नहरुलाई शख्त कारबाही गरिनेछ’, उनले भने, ‘यो कदम विदेशीलाई बहिस्कार गर्ने नीति नभई जापानी जनतामा देखिएको असुरक्षा र असमानताको भावना हटाउने उद्देश्यले ल्याइएको हो ।’
बैठकमा आर्थिक सुरक्षा मन्त्री ओनोदा किमी लगायतका मन्त्रीहरू समेत सहभागी हुनेछन् ।
प्रधानमन्त्री ताकाइचीले विदेशी नागरिकबाट हुने अवैध क्रियाकलापमा कठोर हुने संकेत गरेकी छन् ।
उनले हालैको नीति वक्तव्यमा भनेकी छन्, ‘केही क्षेत्रमा विदेशी श्रमिक आवश्यक छन् भन्ने कुरा सत्य हो। तर हाम्रो नीति 排外主義 (हाइगाइशुगी) होइन, अर्थात् विदेशी विरोधी नीति होइन । सरकार अवैध कार्यकाविरुद्ध भने कडा रूपमा अघि बढ्ने छ।’
सरकारले यस नीतिलाई ‘सन्तुलित आप्रवासी नीति’ को रूपमा अघि बढाउने संकेत दिएको छ ।
आवश्यक क्षेत्रमा विदेशी जनशक्ति उपयोग गर्दै देशभित्र सुरक्षा, कानूनी पारदर्शिता र सामाजिक विश्वास कायम गरिने बताइएको छ।







