राजदूत सुवेदीद्वारा जापानका उपमन्त्री शिमादासँग शिष्टाचार भेट

जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले जापानका परराष्ट्र मामिला संसदीय उपमन्त्री तोमोआकी शिमादासँग शिष्टाचार भेट गरेका छन् ।

नेपाल सरकारले जापानसहित विभिन्न देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि राजदूत सुवेदी पनि चाँडै नेपाल फर्किने तयारीमा रहेका छन् ।

भेटका क्रममा संसदीय उपमन्त्री शिमादाले जापानका लागि राजदूतको हैसियतमा नेपाल र जापानबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्न राजदूत सुवेदीले पुर्‍याएको दीर्घकालीन योगदानप्रति आभार व्यक्त गरेका थिए ।

राजदूत सुवेदीले जापानका नवनियुक्त शिमादालाई संसदीय उपमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्नुका साथै आफ्नो कार्यकाल समाप्तिपछि पनि विभिन्न माध्यमबाट नेपाल–जापान सम्बन्ध सुदृढीकरणमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै राजदूत सुवेदी र उपमन्त्री शिमादाबीच आगामी वर्ष नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सम्बन्धलाई अझ गहिरो र सुदृढ बनाउन सहकार्यका विषयमा मैत्रीपूर्ण छलफल समेत भएको दूतावासले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?